काठमाडौं/ सरकारले दुई महिनापछि ११ स्थानमा श्रम कार्यालय स्थापना गरेर श्रम स्वीकृति वितरण गर्ने तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने युवाको चापलाई मध्यनजर गर्दै सातै प्रदेशबाट श्रम स्वीकृति वितरण गर्ने तयारी गरिएको हो ।
गत साउन २० गते बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रदेशमा श्रम कार्यालय स्थापना गर्ने प्रस्तावलाई पारित गरेपछि आगामी दुई महिनाभित्रै सातै प्रदेशबाट श्रम स्वीकृति वितरण गरिने भएको मन्त्रालयले जनाएको छ।
श्रम मन्त्रालयका अनसार झापा, विराटनगर, जनकपुर, विरगन्ज, काठमाडौं, हेटौंडा, नेपालगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा श्रम तथा रोजगार कार्यालय स्थापना गरिने छ।
श्रम मन्त्री गोकर्ण विष्टले सबै प्रदेशमा श्रम कार्यालय स्थापना गरेर श्रम सम्बन्धी काम गर्ने योजना अघि सारेपछि तीन स्थानमा कार्यालय खोल्ने योजना रोकिएको थियो।
कार्यालयबाट श्रमिकको कामको सुरक्षा, बालश्रम, महिला श्रमिक र सबै श्रमिकका विषयमा अनुगमनसँगै नियमन गरिने मन्त्रालयले जानकारी दिएको छ।


















