– निशा तामाङ
सपना देख्नु नै मानिस हुनुको अर्थ हो । सपना भनेको जीवनको लक्ष्य हो । सपना बिना जीवन अधुरो हुन्छ । त्यस्तै शृङ्गारबिना नारी सुन्दरता अधुरो हुन्छ । प्रकृतिले श्रृजना गरेको सुन्दर श्रृष्टि नारीलाई अझ सुन्दर उसको शृङ्गारले बनाउँछ ।
हरेक नारीलाई आफू सन्दर हुने इच्छा हुन्छ । आफूलाई सुन्दर बनाउन इच्छा अनुसारको श्रृङ्गागर गर्ने, पहिरन लगाउने तथा आफ्नो मनले चाहे अनुसारको काम गर्न खोज्ने हुन्छन् । जसलाई सिर्फ अवसर र प्रेरणाको कमी भएको हुन्छ । अवसर पाए नारीले पनि हरेक क्षेत्रमा आफूलाई सक्षम र अव्वल बनाउन सक्छन् । नारी कोही भन्दा कम छैनन् । हरेक स्थानीय निकाय देखि माथिल्लो तहसम्म पुग्न सफल भएका नारीहरुको उदाहरण हामीले हाम्रो देशको तीनै शक्तीशाली अङ्गमा पुगेका तीन महिलाहरुबाट लिन सक्छौं ।
परापूर्वकालदेखि नै हाम्रो समाजले नारीलाई हेर्ने दृष्टिकोण फरक रहेको छ । संविधान र कानुनमा नारी अधिकारका कुराहरु जति लेखे पनि नारीहरुले यसको अनुभूत गर्न सकेका छैनन् । परा पूर्वकालदेखि चल्दै आएको रुढिवादी प्रथा, परम्परागत प्रवृती एंव पितृसत्ताक सोचका कारण नारी अझै स्वतन्त्र हुन सकेका छैनन् ।
यस्ता सोचाईले नियन्त्रित भएका नारीको शरीर, मनोविज्ञान र मानव अधिकारमा गम्भीर असर पुग्ने गरेको छ । नारी भएकौ कारण गरिने लैङ्गिक हिंसा विभेदका कारण नारीको आत्मसम्मानमा चोट पु¥याउने , नीचा देखाउने, नारीलाई शारीरिक एंव मानसिक रुपले पिडित बनाउने गरेको पाइन्छ ।
एक्काइसौं शताब्दीमा पनि समाजले नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नल्याउनु नेपालको परिपेक्षमा दुःखद पक्ष हो । यसले देश विकासमा ठूलो महत्व राखेको हुन्छ । पुरुषका जस्तै नारीलाई पनि अनेकौं इच्छा र आकांक्षाहरुले ढक्ढकाईरहेका हुन्छन् । तर समाजको बन्धनले उनीहरुको इच्छा र आकांक्षाहरु त्यत्तिकै सेलाएर जाने गर्दछन् । पुरुषवादी समाजले नारीलाई गर्ने अस्वभाविक व्यवहारले उनीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासमा ठूलो प्रभाव पारेको छ ।
दृढ़ इच्छा शक्ति , अवसर, प्रेरणाले हरेक नारीमा एउटा आशाको दियो जगाउन सक्छ । दृढ़ इच्छा शक्तिले आफ्नो लक्ष्य हासिल गर्न सबै बाधा अड्चन पार गर्न सक्छन् । अवसरले सफलता हासिल गर्न सक्छन् साथै प्रेरणाले आफूलाई अझ सक्षम तथा मिहिनेती हुने वातावरणको सृजना गराउँछ । दृढ़ इच्छा शक्ति , अवसर, प्रेरणाले नै हरेक नारीलाई सफलताको शिखरमा पु¥याउन मद्दत गर्दछ । तसर्थ हरेक नारीले समाजको चुनौती तथा समस्यालाई झेल्दै आफ्नो लक्ष्य हासिल गर्न सदैव अग्रसर रहनु पर्दछ ।
त्यस्तै तलको भिडियोले नारीको स्वतन्त्रता र नारीको अधिकारलाई उठान गर्न खोजेको छ । यसले नारीका इच्छा र चाहानालाई उठान गर्न खोजेको छ । नारीका चाहानालाई नारीले कसरी सम्मान गरेका हुन्छन् भनेर पनि यस भिडियोमा देखाइएको छ ।
















