सेभ द हर्ट : स्थापनाको पाँचौ वार्षिकोत्सव

160

काठमाण्डौ/ मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले सुरु गरिएको संस्था सेभ द हर्टले आफ्नो स्थापनाको पाँचौ वार्षिकोत्सव मनाएको छ । शनिवार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उदघाटन गरे ।

सन् २०१३ मा मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईको नेतृत्वमा स्थापना भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष डा. भट्टराईले हालसम्मका क्रियाकलापका बारेमा जानकारी दिए ।

उनका अनुसार संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजारको चारसयको स्वास्थ्य परीक्षण गरिएकोमा १०७ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए ।

संस्थाले स्थापनायता मनमोहन कार्डियोथोरासिक सेन्टर लगायत विभिन्न स्वास्थ्य संस्थालाई सामाग्री तथा उपकरण सहयोग गरेको जनाएको छ । संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको पनि जनाएको छ ।

इटाली पढेर फर्किएका डा. भट्टराईले मुख्यतः संस्थालाई इटालीकै संस्थाहरुले सहयोग गरेको जानकारी दिए । जसअनुसार संस्थाले नेपालका दुईजना मुटुरोग विशेषज्ञलाई इटालीमा पठाएर तालिम पनि दिलाएको छ । संस्थाको वार्षिकोत्सव समारोहमा सहभागी भएकाहरुले संस्थाको क्रियाकलापलाई लिएर प्रशंसा गरे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले खानपान, वातावरण र रहनसहनले गर्दा मुटुरोगको जोखिम उच्च भएकाले रोकथामात्मक कार्यक्रममा जोड दिन संस्थालाई सुझाव दिए ।

त्यस्तै, त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक एवं मुटुरोग विशेषज्ञ अरुण सायमी, मनमोहन कार्डियोथोरासिक एण्ड भाष्कुलर ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, त्रिविकी रेक्टर सु्धा त्रिपाठी लगायतले सेभ द हार्टले मुटुरोगको जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका खेलेको टिप्पणी गरे । सो अवसरमा संस्थाले विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्यो ।

संस्थाले मुटु जोगाउ अभियानमा योगदान दिएको भन्दै रिपोटर्स नेपाल डटकमका सम्पादक रुद्र कार्कीलाई पनि सम्मान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here