चन्द्रप्रकाश बानियाँ
नेताको हैकम र कार्यकर्ताको ‘गुलामी’ भनुँ अथवा नेताको डाँकोका अगाडि कार्यकर्ताको हैसियत ‘रुझेको बिरालोजस्तो’ भन्न मिल्ने विचित्रको दृश्य यसै हप्ता राजधानीमा देखियो । एउटा पार्टीकार्यक्रममा प्रधानमन्त्रीले मातहतका नेता कार्यकर्ताहरूलाई ‘अरिङ्गालको जत्तिको बुद्धि पनि नभएका’ भनेर सार्वजनिकरूपमै हकार्दै गरेको र उपस्थित सहभागीहरूले ताली पिटेर खुसी व्यक्त गर्दै गरेको रमाइलो प्रशङ्ग श्रव्यदृश्य सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो । वक्ता र श्रोता दुबैथरीको भावाव्यक्तिमा स्वाभाविकताको नितान्त अभाव भएजस्तो अनुभूति सिङ्गो मुलुकले गरेको थियो । किनकि न प्रधानमन्त्रीले भनेजस्तो चारैतिरबाट सरकारविरुद्ध हमला भैरहेको कुरामा सत्यता थियो । त्यो नितान्त अतिरिञ्जना थियो भने अर्को तिर आफैलाई एउटा निकृष्ट जीवसँग तुलना गरिएको कुराले अपमानबोध गर्नु साटो कार्यकर्ताहरूले सगोलमा हर्षबढाईं गर्नु पनि स्वाभाविक चेष्टा भन्न मिल्दैनथ्यो ।
उक्त सभाको साझा भावाव्यक्तिबाट एउटा कुरा के स्पष्ट हुन्थ्यो भने सरकारको असफलताबाट सिर्जित आम असन्तुष्टिको आभास प्रधानमन्त्री र कार्यकर्ता दुबैथरीलाई भैसकेको रहेछ । अवश्य, त्यस्तो आत्मबोध सुध्रन चाहने हो भने सकारात्मक कुरा हो भन्नुपर्छ । सँगसँगै चौतर्फी असफलता र आलोचनाबाट प्रधानमन्त्रीलाई उद्दिग्न र विक्षिप्त पनि बनाएको रहेछ । असहजताको अनुभूति भएको रहेछ र औपन्यासिक पात्र डन्क्विजोटले झै चारैतिरबाट आफूमाथि हमला हुनथालेको भ्रमात्मक अनुभव गरिरहेका रहेछन् । देश र समाजको हितअनुकूल काम गर्ने आशामै पछिल्लो निर्वाचनमा जनताले वामगठबन्धनलाई जिताएका हुन् । प्रचण्ड बहुमत दिनुको पछाडि जनताका निश्चित आशा अपेक्षा थिए । झण्डै एकवर्षको अवधिमा सरकारले आशालाग्दो लक्षण नदेखाएपछि जनताबाट स्वाभाविक असन्तुष्टि अभिव्यक्त हुन थालेको हो । जनताको असन्तुष्टि सरकारको निन्दा आलोचना होइन, सुध्रनका लागि गरिएको अुनरोध मात्र हो । सरकारलाई अपदस्थ गरिहाल्नुपर्ने आवश्यकता जनताले देखिसकेको छैन । एउटा बुझ्नुपर्ने कुरा के हो भने सरकार व्यवस्थाबाट बाँिधिएको हुन्छ, कानूनबाट जेलिएको हुन्छ तर जनता व्यवस्थाभन्दा माथि हुन्छन् । चरम निराशा र असन्तुष्टिका कारणबाट वैधानिक सरकारलाई सडकबाट अपदस्थ गर्न उद्यत हुनुपर्ने अवस्थामा जनता पुगेका उदाहरणहरू संसारमा अनेकौं छन् । नेपाली जनता त्यो ठाउँमा पुगिसकेका होइनन् । हाम्रा प्रधानमन्त्रीमा भने जनताले आफूलाई गद्दीबाट उतार्न आँटेछन् कि भन्ने व्यर्थ भ्रम परेकोजस्तो देखियो । त्यसैले अत्तालिएका प्रममा आफ्नो हातबाट सत्ता खोस्न चाहने तत्व सक्रिय भैसक्दा पनि कार्यकर्ताहरू मौन रमिते बनेको बुझाई विकसित भएको रहेछ ।
प्रधानमन्त्रीलाई आफ्नै अकर्मण्यताको छाँयाले भूत बनेर तर्साउन थालेको रहेछ भनेर अनुमान गर्न सकिने अवस्था उपस्थित भैसकेको कुरा समाजले अनुभूत गरेको छ । पहिलो कुरा त नेपाली जनता सडकमा उत्रिसकेको होइन । त्यस्तो समय उपस्थित भएको अनुभूति जनताले गरेको छैन । ओलीको नेतृत्वमा कथित वामपन्थी सरकार गठन हुँदा जनताले निकै ठूलो आशा अपेक्षा राखेको थियो । वर्तमान सरकार जनताको अपेक्षामा खरो उत्रन सकेन । तैपनि यसभन्दा अगाडिका सरकारहरू पनि जनताका दृष्टिमासफल मानिएका थिएनन् । तुलनात्मक रूपमा योभन्दा फलानो सरकार जनपक्षीय थियो भन्ने ठाउँ थिएन । वर्तमान सरकारलाई विस्थापित गर्दा अर्कोबाट जनताका अपेक्षाअनुुरूप काम हुने आशा गर्ने ठाउँ छैन । त्यसैले असन्तुष्ट भए पनि तत्काल सरकारविरुद्ध आन्दोलित हुने मनस्थितिमा जनता छैनन् । जनताले अवश्य गुनासो गर्न थालेका छन्, निराशा व्यक्त गर्न थालेका छन तर विद्रोहको झण्डा उठाइहाल्ने स्थितिमा छैनन् । दोश्रो कुरा, सरकारको विपक्षमा चारैतिरबाट आक्रमण भैरहेको र नेकपाका कार्यकर्तहरू तमासे बनेर बसेको स्थिति पनि होइन । नेकपाले त्यत्तिको सचेत र विवेकवान कार्यकर्ताहरू तयार गरेकै छैन । सरकारले राम्रो गर्न सकेन भनेर जनता, समाज र देशप्रति सहानुभूतिशील हुने नागरिकचेतना उनीहरूमा पटक्कै छैन । नीतिप्रति नभए पनि नेतृत्वप्रति अन्धभक्तिको हदैसम्म प्रतिबद्ध कार्यकर्ता उत्पादन गर्ने कुरामा नेकपा एकदम सफल छ भन्नै पर्छ । हनुमानको रामप्रतिको समर्पण र स्वामीभक्तिलाई समेत माथ गर्नेगरी आफ्नो नेतृत्वप्रति नेकपाका कर्याकर्ताहरूमा अन्धभक्ति छ । थोरै मात्र स्वतन्त्र चिन्ता र बुद्धि विकेक हुन्थ्यो भने प्रधानमन्त्रीले आफैलाई अरिङ्गालजस्तो तुच्छ किराफटेङ्ग्राभन्दा बुद्धिहीन भनेर गालीगर्दा खुसीले गदगद हुदैनथे होला । ताली बजारएर नाच्न सक्तैनथे होला !
प्रधानमन्त्रीले उठाएको अरिङ्गालको प्रशङ्ग कुनै अर्थमा पनि विवेकयुक्त थियो भन्न मिल्दैन । हो, यतिखेर कञ्चनपुरको निर्मला हत्याकाण्डले सिङ्गो देशलाई तरङ्गित बनाएको छ । एउटा चेलीको बलात्कार पछिको नृशंस हत्याले समाजलाई सम्वेदित बनाउनु स्वाभाविक थियो । त्यसमाथि प्रहरीप्रशासनको ढिलासुस्ती, आलटाल र उपेक्षाजनित व्यवहारले घटनालाई थप शंसयपूर्ण बनाइदिएको थियो । खतुकीहरूलाई जोगाउने नियतबस नक्कली अभियुक्त अघिसारिएको घटनाले समाजलाई थप आक्रोशित बनएको हो । दु्रत र निष्पक्ष छानविन र अपराधीको खोजतलाशमा तदारुकताको माग सिङ्गो देशले गरेको हो । अपराधीहरूलाई कानूनको दायरामा ल्याउ भनेर माग गरेका हुन् । जनताले सरकारलाई गद्दी छोड भनेको होइनन् । सरकार परिवर्तनको कुरा गरेका होइनन् । अपराधीलाई कानुनी कारवाहीको माग गर्नु अथवा पिडितलाई न्याय दिलाउ भन्नु सरकारविरुद्धको आवाज होइन । देशमा नेकपाको सरकार छ । पुलिस, प्रशासन र अदालत सरकार मातहतकै निकायहरू हुन् । तिनीहरूको नियत र कर्तव्यनिष्ठामा प्रश्न उठ्ने परिस्थ्तिि दृष्टिगोचर भएपछि अभिभावक र समाजले सरकारबाट अपराधी समातिने प्रतिबद्धता खोजिनु अस्वाभाविक होइन । घटनाक्रमले पिडितलाई न्याय दिलाउने भन्दा अपराधीलाई उन्मुक्ति दिने प्रपञ्चतिर सम्बन्धित निकायहरू उद्यत भएको अनुभूतिले सिंगो देशवासीलाई सम्वेदित बनाएको हो । त्यसैले सिङ्गो देशले समवेत स्वरमा निर्मलालाई न्याय देउ भनेर आर्तनाद गरेको हो । बस्, भएको कुरा त्यति नै हो । न्यायनिसाफको याचनालई सरकारमाथिको हमलाको रूपमा बुझ्नु गलत हो । पुलिस, प्रशासन र सरकारको लाचारीको प्रशंसा र समर्थन गर्ने कार्य नेकपाका कार्यकर्ताले गर्न नसकेको कुरा भने सत्य हो ।
प्रमको पछिल्लो उत्पे्ररणा र आह्वानले नेकपाका कार्यकर्ताहरूलाई अवश्य जगाउला, तताउला । अर्थात विकेकरूपी आँखामा पट्टी बाँधेर सरकारसमक्ष न्यायको याचना गर्ने जनतामाथि बर्बर हमलामा उाित्रएलान् पनि । विकास र समृद्धि माग्ने जनतामाथि लठ्ठी बजारिएलान् । सुशासनको माग गर्नेहरूमाथि लात्ति र मुड्की बर्सलान् । किनकि ‘अरिङ्गाल प्रवृत्ति’ भनेको रिसको झोकमा सामुन्ने जोपर्छ त्यसैलाई डस्नु हो । आफ्नो गोलोमा ढुङ्गा हान्ने को हो भनेर छानवीन गर्ने अरिङ्गालमा ल्याकत हुँदैन । धेरै वा थोरै क्षति पु¥याएको भनेर दण्डमा विवेक गर्न पनि जान्दैन । ढुङ्गा हान्नेलाई जस्तै ढुङ्गाहान्न रोक्नेलाई समेत फेला पारेपछि विषालु आरो धस्न रिसाएको अरिङ्गाल पछि पर्दैन । अपराधी र निरपराध वा खतिक्षतिको कमीबेसी हेरेर विकेक गर्ने क्षमता उसमा हुदैन । प्रमको मन्त्रले काम ग¥यो भने नेकपाका कार्यकर्ताले गर्ने पनि त्यही हो । उनीहरू ‘ब्रेनवास’ भन्न मिल्ने गरी सम्मोहित गरिएका छन भन्ने कुरा प्रमको फटकार र आरोप सुनेर पनि रत्तिभर आत्मग्लानीको अनुभूति नगर्ने व्यवहार प्रदर्शनले उजागर गरिसकेको छ ।
जनधारणा साप्ताहिक














