काठमाडौं, असोज ४, भूकम्पबाट भत्किएका पशुपति क्षेत्र विकास कोष अन्तर्गतका संरचनाहरुको पुनर्निर्माण र पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ । क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन प्राधिकरणले प्राविधिक र आवश्यक परे आर्थिक सहयोग समेत गर्ने भएको हो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल सहितको टोलीसँग छलफल गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा मौलिक शैली, प्रविधि र निर्माण सामग्रीहरुको प्रयोगका लागि प्राधिकरणले आवश्यक पुरातत्वविद् तथा इन्जिनियरिङ जनशक्ति लगायतमा सहयोग गर्ने बताए ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गतका भूकम्पबाट प्रभावित भएका पुननिर्माण गर्नुपर्ने संरचना र प्रवलीकरण गर्नु पर्ने संरचनाहरुको लागि स्पष्ट योजना माग गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आर्थिक स्रोतको अभाव नहुने बताए । उनले धार्मिक र पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण पहिले जुन शैलीमा थिए, त्यही शैलीमा निर्माण गरी संरक्षण गर्नुपर्नेमा जोड दिए ।
पुनर्निर्माण गर्दा पर्यावरणीय सन्तुलन र सांस्कृतिक सम्पदाहरुको संरक्षण कार्यलाई एकासाथ अगाढि बढाउनुपर्ने र त्यसो गर्दा प्राधिकरण, कोष, पुरातत्व विभाग, विज्ञ, स्थानीय समुदाय लगायतबीच समन्वय र सहकार्य हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले बजेट भएपनि परामर्शदाता, प्राविधिक जनशक्ति र उचित समन्वयको अभावमा पुनर्निर्माणका धेरै काम अघि बढाउन नसकिएको भन्दै सहयोगका लागि प्राधिकरणलाई आग्रह गरेका थिए ।
‘पुनर्निर्माणका लागि विनियोजन भएको बजेट समेत खर्च गर्न सकिएको छैन । पुनर्निर्माणका बाँकी काम गर्न समेत प्राधिकरणले परामर्शदाता र जनशक्ति उपलब्ध गराउन आवश्यक छ’–सदस्य सचिव डा ढकालको भनाइ थियो ।
गत वर्ष पशुपति क्षेत्रको पुनर्निर्माणका लागि २० करोड रुपौयाँ विनियोजन गरिएको थियो ।


















