सरु श्रेष्ठ
मानिसले देखेका हरेक घटनाको सहि मुल्यांकन गर्नु, सुनेका कुरा एक आपसको छलफलबाट निर्णय लिनु र जीवनको फाइदा जनक गाथाहरु अरु समक्ष पोखिदिनु पनि मानव जीवनको सच्चा पाटो हो । तर आज भोलि मानिस बाट मानवता लोप हुँदै गएको पाइन्छ । हरेक दिन सामान्य घटना देखि जघन्य अपराधका घटनाहरु बढ्दै गैरहेको छ ।
कुनै घटनामा त मानिस लाइ पशु सरि दाज्न मिल्ने हर्कत देखाउने क्रम बढ्दो छ । डेढ महिना अघि नै १३ बर्षीय निर्मला पन्त जस्को बलत्कार जस्तो जघन्य अपराध पछि हत्या गरिएको थियो र ७० बर्षीय बृद्धा माथी समेत यौन दुव्र्यवहार भएको थियो । आज भोलि यस्ता घटनाहरु दिन प्रति दिन बढ्दै गैरहेको छ । एउटा छोरी समानको बालिका र आमा समानको बृद्धामा त गिद्धेनजर लगाइन्छ भने यौन उमेरले परिपक्क भएको महिला माथी हेर्ने नजर झन् कस्तो होला ?
अहिले जति पनि बाहिरिएका बलत्कारका घटना हरु छन् यी सुन्दा त मन मस्तिष्क नै गलेर आउछ । प्रकृतिले मानिसलाई हर चीजले पूर्ण बनाइदिएको छ, मानिस र पशुपन्छी बीच आकाश पातालको फरकमा जीवन जीउने तरिका छुट्याइदिएको छ । सबै प्राणी मध्य मानिसलाई एक सर्वश्रेष्ठ, चेतनशील प्राणीको रुपमा विकास गराइदिएको छ । तर समयको चक्र उल्टो चले सरि पशुले मानवको व्यवहार देखाइरहेका छन् भने मानवले पशुले झै घटिया व्यवहार देखाइरहेका छन् ।
वास्तवमा जंगलका जनावर आ आफ्नो स्थानमा स्वतन्त्र भएर बाँच्छन् । निर्धक सँग हिँडडुल गर्छन्, एक अर्का प्रति भय नै नभएको जस्तो हामी सजिलै अड्कल गर्न सक्छौ । तर चेतनाले भरिपुर्ण भएको मानिसको जीवन भने स्वतन्त्र सँग बाच्न सकिरहेको छैन । विषेश गरि स्त्री जाती । धेरै जसो समय मन भरि डर त्रास बोकेर हिड्न पर्ने अवश्था छ । यो सब हुनुको मुख्य कारण मानिसमा मानवताको भावनाले बास छाड्दै जानु हो । जहाँ बाबुले छोरी चिन्दैन, जहाँ एउटा पुरुषले एउटी आमा समानको बृद्धा महिला चिन्दैन, आफन्तले आफ्ना चिन्दैनन् । यति सम्मको नीच व्यवहार समेत चेतनशील मानिस भित्र छ । त्यसकारण मानवता भन्ने शब्द त अब शब्दमा मात्र सिमित हुने भयो । जस्तै -एउटा दुर्लभ प्राणी तस्बिर मात्र सिमित हुन्छ ।
केहि समय देखि यता यौन दुव्र्यवहार लगायत अन्य अपराधीक कार्यहरु दुबो सरि मौलाउदै आईरहेको छ । खास मानिसले आवेगमा आएर गल्ती गर्छन् , तर त्यही गल्ती पुन अर्को व्यक्तिबाट पनि दोहोरिनु भनेको कानुनको बेवास्ता गर्नु हो, साथै नितिनियमको धज्जी उडाउनु हो । संविधानमा उल्लेख गरिएको जुन कानुनी नितिनियमहरु छन् त्यी सब केहि विशिष्ट व्यक्तिहरुको गोजीमा राखिने रुमाल सरि भएको छ । जुन बेला आवश्यक पर्छ त्यहि बेला निकाल्ने हैन भने चुपचाप गोजीमा ।
जब कानुनी नियममा पक्षपातले जरो गाड्छ, तब पिडितले आफ्नो स्वर नसुकाए हुन्छ ।
समाजमा अहिले हरेक प्रकारका अपराधिक घटनाहरु व्यापक मात्रामा घटिरहेका छन् र घटनाका पिडितहरुले न्याय पाउन फलामको चिउरा चपाउन सरि गाह्रो हुन्छ । अझ आज पनि प्रहरी प्रशासन भोलि पनि प्रहरी प्रशासन भनेर धाउन पर्छ । यो सब फितलो राजनिति र फितलो कानुनी नियमले गर्दा भएको हो । यदि निष्पक्ष ढंगमा नितिनियम लागु हुन्थ्यो भने आज पिडितले किन आसुको धारा बगाएर महिनौ प्रशासनको ढोका ढक्ढक्याउनु पथ्र्यो ? शंकास्पद व्यक्ति भन्दै घटनाको विवरण लिए जस्तो गर्दै मुख्य अपराधीलाई कानुनले नै ढाकछोप गर्ने कार्य बढिरहेको छ । अब सोझा साझा र धन सम्पति मस्त नभएकाहरुले न त मानवताको व्यावहार चाख्न पाउछन् , न त न्याय के हो भनेर बुझ्न पाउछन् । आखिर कहिले सम्म होला यस्तो चर्तीकला ?