काठमाडौं / काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
उनको ७७ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले सञ्चार माध्यमलाई जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।
तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो। त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।
मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।


















