कञ्चनपुर / निर्मला हत्या प्रकरणमा घटनाको प्रारम्भिक अुनसन्धानमा प्रहरीले चरम लापरबाही गरी नक्कली अभियुक्त खडा गर्न खोजेपछि घटनामाथि सर्वसाधरणले प्रहरीमाथि प्रश्न उठाइरहेका छन् । प्रहरी फेरि पनि अुनसन्धानमा असफल भएको छ ।
प्रहरीले हत्यारा प्रक्राउ गरिसकेको र अनुसन्धान अन्तिम चरणमा रहेको भनेतापनि हत्या स्वीकार गरेको भनिएका मध्ये विशाल चौधरी छुटेपछि निर्मला हत्या प्रकरण झन रहस्यमय मोडमा पुगेको हो।
निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको पछिल्लोपटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई अनुसन्धानका लागि भन्दै १८ दिनअघि मंसिर १९ गते पक्राउ गरिएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका १६ वर्षीय विशाल चौधरीलाई प्रहरीले शनिवार आफन्तको जिम्मा लगाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले प्रहरी कार्यालयको रोहबरमा बालबालिका खोजतलास केन्द्रले विशाललाई परिवारको जिम्मा लगाएको जानकारी दिएका छन्।
छुटेका विशालले कञ्चनपुर प्रहरीले यातना दिएपछि डरले अपराध स्वीकार गरेको जनाएका छन् । परिवारको सम्पर्कमा पुगेपछि उनले कञ्चनपुरमा प्रहरीले आफूमाथि यातना र धम्की दिएको जनाए । कहिले भने प्रलोभनसमेत देखाएर अपराध स्विकार्न लगाएको उनको भनाइ छ । ‘मलाई काठमाडौंमा सोधपुछ मात्रै गरेको हो, तर कञ्चनपुरमा यातना, धम्की र प्रलोभन देखाइयो ।’ प्रहरीले मारिदिने धम्की दिएपछि डरले प्रहरी र बाबुको अगाडि अपराध स्वीकार गरेको विशालले जनाए।
विशाल र प्रदीपले निर्मलाको हत्या आफूहरू मिलेर गरेको साविती बयान प्रहरीलाई दिएका थिए । कञ्चनपुरकै भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशालले बुबाकै अगाडिसमेत अपराध स्विकार गरेका थिए ।
प्रहरी नेतृत्वले उनीहरूको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले जनाएको छ । डिएनए रिपोर्ट कञ्चनपपुर पुगिसकेको पनि प्रहरी स्रोतले जनायो । प्रदीप भने महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमै छन् ।

















