काठमाडौं / राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलपरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को आयोजना गर्ने भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी दिईएको हो ।
संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले पश्चिम नवलपरासीको बर्दघाटमा फागुन ४ गते सम्पन्न हुने ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को संरक्षकमा रहेर केन्द्रीय समितिले सक्दोसाथ दिने विश्वास दिलाए ।
उनले भने,‘राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनपछि हामीले देशभरि नै संगीतको क्षेत्रमा नयाँ आयमसहितको मुभमेन्ट लिएर अघि बढ्ने संकल्प गरेका छौं, नवलपरासीले चाहेको खण्डमा प्रत्येक वर्षमा राष्ट्रिय संगीतकर्मी अवार्ड सम्पन्न गर्न सक्नेछ, केन्द्र शाखाहरुको संरक्षक भएको नाताले सहकर्मी भएर साथ दिन तयार छ, केन्द्रले गर्न नसकेको कार्य पश्चिम नवलपरासीको बर्दघाटमा जिल्ला कार्यसमिति नवलपरासीले गर्दैछ, यो कार्यका लागि अध्यक्ष राधा तिवारीलाई धन्यवाद र बधाईछ ।’
राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलरासीकी अध्यक्ष भानुमती तिवारी (राधा) ले ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ निष्पक्ष र विवादरहित हुने जनाएकी छन् ।
उनले भनिन्,‘यहाँभन्दा पहिलेका अवार्डहरुले समाजमा नकारात्मक सन्देश प्रवाह गरेका छन्, अब हामीले यो अवार्डबाट संगीत क्षेत्रमा ईमानदार र सच्चा कलाकारहरु पनि छन् भन्ने सन्देश प्रवाह गर्छौं ।’
उनले अघि थपिन्,‘आउँदो फागुन ४ गते नवलपरासीको वर्दघाटमा यो अवार्डको आयोजना गरेका छौं, यस कार्यमा सबैलाई आफ्नो स्थानबाट साथ दिनको लागि आग्रह गर्दछु, अवार्डहरुमा सर्वोत्कृष्ट राष्ट्रिय गीत, सर्वोत्कृष्ट लोक गीत, सर्वोत्कृष्ट लोक दोहोरी गीत, सर्वोत्कृष्ट आधुनिक गीत, चलचित्र गीत, बाद्यबादक, सर्वोत्कृष्ट रचनाकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट गजललगायत ४० विधामा अवार्ड वितरण गरिनेछ ।’
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गना, राष्ट्रिय संगीतकर्मी संघ, नवलपरासीका उपाध्यक्ष सन्तु गाहा, लोक संञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणी गौतम लगायतले उक्त ‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ बारेमा आफ्ना कुराहरु राखेका थिए ।
















