नुवाकोट – प्रहरीले नुवाकोटका दुई युवालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ । दुई नाबालिकालाई फकाएर भारततर्फ बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तादी गाउँपालिका–२ का कान्छा तामाङ र बुद्धिमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
नुवाकोटको दुर्गम क्षेत्रमा पर्ने गाउँका दुई नाबालिकालाई भारतमा राम्रो काम लगाइदिने भनेर त्यसतर्फ लैजाँदै गर्दा जिल्लाको तादी गाउँपालिका–५ बाहुनबेँसीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको र सहयोग पुर्याउने अन्यको समेत खोजी जारी राखेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुईविरुद्ध गएको भदौ १८ गतेदेखि हराएका उर्लेनीका तीन किशोरीलाई पनि भारतमा लगेर बिक्री गरेको अभियोग उनीहरूका अभिभावकले लगाएका छन् ।
















