काठमाडौं / नेपालको इतिहासमा दुईतिहाइ बहुमतसहितको संसदको नेतृत्व गर्ने दुई भाग्यमानी प्रधानमन्त्री हुन् विश्वेश्वरप्रसाद कोइराला र केपी शर्मा ओली । वि.सं.२०१५ मा भएको संसदीय निर्वाचनमा कांग्रेस एक्लैले दुईतिहाइ मत प्राप्त गरेको थियो ।
लामो समयदेखि आफ्नो अधिकारको लडाइँ लड्दै आएका जनताले तत्कालीन कांग्रेस र विशेष गरी विपी कोइरालाबाट ठूलो अपेक्षा गरेर दुईतिहाइ मत दिएका थिए । त्यतिबेला पनि नेपाल एउटा व्यवस्थाबाट अर्काे व्यवस्था अर्थात राणा शासनको अन्त्य भएर प्रतातन्त्रको अभ्यास गर्दै गरेको एक दशक हुँदै थियो । ०१७ साल पुस १ गते राजा महेन्द्रले सत्ता हातमा लिएर दलहरूमाथि प्रतिबन्ध लगाउँदै निर्दलीय पञ्चायती व्यवस्था लागु गरिदिए । ००७ सालमा प्राप्त भएको प्रजातन्त्र पाउन नेपाली जनताले पुनः ३० वर्ष संघर्ष गर्र्नुप¥यो । राजा महेन्द्रले सत्ता हातमा लिनुको मुख्य कारण नेपालको राष्ट्रिय स्वाधीनता दिन प्रतिदिन कमजोर हुँदै जानु नै थियो । नेपालको सैन्यदेखि परराष्ट्र हुँदै आन्तरिक मामिलामा समेत भारतीय हस्तक्षेपले प्रभाव पारेको थियो । यही अवस्थाले गर्दा राजा महेन्द्रले शासन आफ्नो हातमा लिएका थिए ।
महेन्द्रले शासन हातमा लिएसँगै नेपालमा भारतीय प्रभाव कम भयो र नेपालको अन्य मुलुकसँगको सम्बन्धमा पनि व्यापक सुधार भयो । त्यस अवधिमा नेपालमा बेलायती महारानीदेखि शक्तिशाली मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख लगायतका विशिष्ट पाहुनाहरूले पनि नेपाल भ्रमण गर्ने तथा नेपालका राजा तथा प्रधानमन्त्रीहरूसमेत शक्तिशाली मुलुकहरूमा औपचारिक भ्रमण गर्ने प्रक्रिया चलिरह्यो । ०४६ सालको परिवर्तनपछि नेपालको तर्फबाट उच्चस्तरीय भ्रमण आदान–प्रदान भारतबाहेकका अन्य मुलुकहरूमा लगभग शून्य नै छ । यसको अर्थ पञ्चायती व्यवस्था राम्रो थियो भन्न खोजिएको होइन, कालापानीमा भारतीय सेनाले आफ्नो क्याम्प राखेको पञ्चायतकालमै हो । तथापि त्यतिबेला दीर्घकालीन महत्वका महत्वपूर्ण नीति निर्माण र निर्णयहरू भए, जसको जगमा वर्तमान नेपाल अघी बढिरहेको छ ।
विपीको दुईतिहाइ मतको सरकारलाई राजाले अपदस्थ गरेको करिब ६ दशकपछि केपीले दुईतिहाइ मतको सरकारको नेतृत्व गरिरहेका छन् । अहिले पनि मुलकमा व्यवस्था परिवर्तन भएको एक दशक जति नै भएको छ । र जनताले प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माथि ठूलो भरोसा राखेर बहुमत दिएका हुन् । भलै वर्तमान प्रधानमन्त्री ओलीले नेतृत्व गरिरहेको सरकारको दुईतिहाइ एउटै दलको होइन तथापि एउटै दलसँग पनि प्रष्ट बहुमत रहेको अवस्था छ । प्रधानमन्त्री ओलीले दुईतिहाइ बहुमतसहितको सरकारको नेतृत्व गर्दा नेपालमा राजतन्त्र छैन र स्वयम् ओलीमाथि हस्तक्षेप गर्ने अन्य कुनै शक्ति छैन भन्ने दम्भ पनि रहेको देखिन्छ । दुईतिहाइको सरकार बनेको एक वर्ष हुन लागिसकेको छ, जनताले साना साना कुरामा दुःख पाउनुपर्ने अवस्था यथावत छ ।
लामो समय राजतन्त्र र अस्थिरताको पीडा भोगेका जनताले परिवर्तनको आशा सहित वर्तमान सरकारलाई काम गर्न प्रष्ट बहुमत दिएका हुन् । तर अहिले परिस्थिति बिल्कुल फरक छ । नेपाली जनताले कम्युनिष्ट सरकारबाट राष्ट्रियताको सम्बद्र्धन र आत्मनिर्भर अर्थतन्त्रको विकासका साथै नेपाली जनताको जीवनस्तर माथि उठाउने अभियान अपेक्षा गरेका हुन् । तर ओली सरकारले दुईतिहाइको दम्भमा जनतालाई करको भार थोपरेर राजस्व संकलन गरेको नाटक देखाउने र मन्त्रीहरूलाई विलासी सुविधा उपलब्ध गराउने कामलाई सबैभन्दा ठूलो उपलब्धि ठानिरहेको देखिन्छ । यो स्थितिले ओली सरकार अलोकप्रिय बनिरहेको छ ।
भ्रष्टाचार गर्दिन र गर्न पनि दिँदैन भनेर नथाक्ने प्रधानमन्त्री ओलीका २४ जना मन्त्रीमध्ये २३ जनाले दोहोरो सुविधा लिँदै देखिने गरी भ्रष्टाचार गरिरहेका छन् । प्रधानमन्त्रीकै दलका सांसदहरूले आफ्नै घर हुँदासमेत घरभाडा, सहयोगी खर्च भन्दै राज्य कोषको दुरूपयोग गरिरहेका छन् । यस्ता नदेखिने विषयमा राज्यकोषको दुरूपयोग त कति भएको होला कति ! हरेक क्षेत्रमा दलाली, कमिसन र घुसखोरहरू सक्रिय छन् । तर प्रधानमन्त्री त्यसलाई अन्त्य गर्नमा तत्पर देखिदैनन्, बरु भाषणबाट ओठे जवाफ फर्काउनमै व्यस्त देखिन्छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको छ । जनतामा व्यापक निराशा छाउँदै गएको छ । त्यसको समाधान गर्न र जनतालाई राहत दिन सरकार तत्पर देखिदैन ।
सरकार बनेको नौ दश महिनामै जनता विकल्पको खोजिमा लागिसकेका छन् । अहिले भलै राजा सत्तामा छैनन् । तर तीनै महेन्द्रका छोरा ज्ञानेन्द्र निजी भ्रमणमा कतै जाँदा हजारौँ जनता जम्मा भएर जयजयकार गर्न थालिसकेका छन् । यो वर्तमान दुईतिहाइ सरकारका लागि शुभसंकेत होइन । पूर्वराजा आफूले केही बोलेका छैनन् । तर पूर्वराजाका पक्षमा देखिएको जनमतबाट अताल्लिदै प्रधानमन्त्री ओली र उनकै दलका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व राजालाई चेतावनी दिँदै हिडिरहेका छन् । नेपालीमा एउटा उखान छ, नाच्न नजान्ने आगन टेढो, अर्थात आफूले जनताको मन जित्ने गरीकाम गर्न नसक्ने, जनताको समर्थन नपाएको दोष पूर्व राजालाई दिने प्रवृत्तिले त्यही संकेत गर्छ ।
हामी नै सर्वेसर्वा हौँ, शक्ति हामीसँग मात्र छ भन्ने कुरा कसैले पनि सोच्नु हुँदैन । हिजो पूर्व राजा ज्ञानेन्द्रमा त्यही सोँच पलाउँदा जनताले सड्कबाटै राजसंस्था उखेलेर फ्याकेका हुन् । आज दुईतिहाइको सरकारले पनि त्यस्तै भ्रम पालेर मुलुक र जनताका पक्षमा कामै नगरी घुसखोर, कमिसनखोर र दलालहरूलाई साथ दिँदै जाने हो भने जनताले सरकारको विकल्प खोज्न सक्छन् । जनताले चाहेमा २४० वर्ष राज गरेको राजसंस्था त रहँदैन भने पाँच वर्षका लागि आएको सरकारलाई मिल्काउन सक्दैनन् भन्ने सोच्नु गम्भीर त्रुटि हुन सक्छ । वर्तमान सरकारले जनताको आकांक्षा अनुसार काम गर्न नसक्दा इतिहासमा के–कस्ता घटनाक्रम भएका छन् त्यसलाई पनि हेर्न आवश्यक छ । राज्यसत्ताको दम्भलाई हिजो पनि नेपाली जनताले जवाफ दिएकै हुन् र आज पनि दिन सक्षम छन् । त्यसैले वर्तमान सरकार र प्रधानमन्त्री ओलीले बहुमत वा दुईतिहाइको दम्भ राखेरै अघि बढ्न खोजेमा त्यसको विकल्प खोज्न जनता बाध्य हुनेछन् । विपी कोइरालाको दुईतिहाइ बहुमतले पाएको सबकबाट केपी ओलीको दुईतिहाइ नजिकको सरकारले सिक्न जरुरी छ, सबैलाई चेतना भया !

















