काठमाडौं / संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? यसबारे बुझ्दा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’ पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए ।
संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनबारे के भइरहेको छ ? गृह मन्त्रालयमा बुझ्दा प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘यसबारे प्रधानमन्त्री कार्यालयमा बुझ्नुहोला । प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाइएको हो ।’
गत वर्ष माघ ९ गते दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं भित्रिएको ३३ किलो सुन विमानस्थलबाट ओसार्ने क्रममा हराएको थियो । उच्चस्तरीय समितिको टोलीले साउन १६ मा ७ सय ७२ पृष्ठको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो ।
प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्दा त्यस्तैजवाफ दिइयो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले संवाददातासँग भने, ‘गृह मन्त्रालयको विषय भएकाले गृहमै बुझ्नू ।’गृहले त प्रधानमन्त्री कार्यालयमै बुझ्नु भनेको छ भन्ने प्रतिप्रश्न गर्दा उनले भने, ‘कहिलेकाहीँ उच्चस्तरीय समितिका थप काम थाहा हुन सक्दैन ।’
‘अनुसन्धानका बेला प्रधानमन्त्रीको उत्सुकताले हामी अचम्मित थियौं । ‘ठूला माछा’ नै समातिन्छन् भन्ने लागेको थियो,’ समितिका एक सदस्यलेनाम नखुलाउने सर्तमा भने, ‘प्रतिवेदन हात परेपछि अनौठो मौनता देखियो ।’
प्रतिवेदनमा समेटिएका तथ्यले सुन तस्करीमा संलग्नमध्येका केहीबाट नेताहरूले समेत आर्थिक लाभ लिएको भेटिएको समिति स्रोतले दाबी गरेको छ ।
प्रतिवेदनपछि सरकार चुपचाप बस्नुको कारणबारे जानकारहरू तस्करीमा संलग्नहरूको उच्चस्तरीय पहुँचलाई कारण मान्छन् । पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘विगतमा पनि संगठित सुन तस्करीको अनुसन्धान राजनीतिक पहुँच र सम्पर्कमा पुगेर टुंगिन्थ्यो । अहिले पनि त्यस्तै देखियो ।’
उच्चस्तरीय समितिले पनि विमानस्थलबाट बाहिरिएको ३३ केजी सुन कहाँ पुग्यो भन्ने पत्ता लगाउन सकेको छैन । स्रोतका अनुसार समितिले प्रतिवेदन बुझाएलगत्तै सुन कसरी हरायो भन्नेबारे महानगरीय प्रहरी अपराध महाशाखाले एउटा गोप्य अनुसन्धान गरेको थियो ।
सरकारबाट जिम्मेवारी नपाईकन थप अनुसन्धान गर्नु महाशाखाका निम्ति सजिलो थिएन । आरोपीहरूको कल डिटेललगायत प्राविधिक सूचनाबिनै महाशाखाले विमानस्थलबाट बाहिरिएको सुन कसरी हरायो भन्नेबारे केही तथ्य उधिनेको थियो । महाशाखाका एक अधिकारीले भने, ‘सरकारले नै थप चासो नदेखाएपछि हामीले प्राप्त गरेका सूचना कहाँ र कसरी उपयोग गर्ने भन्नेमा अन्योल भयो ।’
मंसिर २१ मा कलकत्ताबाट दिल्ली जाँदै गरेको एक कारबाट ३३ किलो सुनसहित दुई नेपाली पक्राउ परे । अनुसन्धानमा खटिएका सरकारी अधिकारीले नेपालबाट हराएको भनिएको सुन त्यही हुन सक्ने आशंका व्यक्त गरे ।
भारतीय राजस्व अधिकारीहरूले दुवै जनालाई पक्राउ गरी कोलकातास्थित महावाणिज्यदूतलाई पत्राचार गरेका थिए । महावाणिज्यदूतले उक्त सूचना तत्काल गृह मन्त्रालय पठाए तर सरकारले अनुसन्धान गर्न चासो नै दिएन । परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले भारतमा भेटिएको सुनबारे बुझ्न गृहबाट कुनै अनुरोध नआएको जनाए । कान्तिपुर


















