हेटौंडा / प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिएका छन् ।
अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारले जे पनि लेख्दै गएमा जेलसम्म हाल्ने चेतावनी दिएका छन् ।
मन्त्री जमरकटेलले संसदमा प्रधानमन्त्रीले संबोधन गर्नुभएको कुरामा आफ्नो समर्थन रहेको जनाउँदै पत्रकारहरुलाई जे पनि लेख्न छुट नभएको जनाए ।
न्यायक्षेत्र अत्यन्तै परम्परावादी भएको टिप्पणी गर्दै मन्त्री जमरकटेलले भने ,‘अरु सबैले परिवर्तनलाई स्वीकार गरे पनि अदालतले परिवर्तनलाई स्वीकार गर्न सकेको छैन । अब तीन महिनामा कुनैपनि मुद्धाको छिनोफानो हुनुपर्छ । विकट जिल्लाबाट सर्वोच्च अदालतमा पीडितहरु धाइरहनु पर्ने परम्पराको अब अन्त्य हुनुपर्छ ।’
स्थानीय तहमा इजलास बनाएर काम सुरु गर्नका उपप्रमुखहरुलाई निर्देशन दिँदै उनले भने ,‘अदालतमा आएर बस्ने, चिया खाने, दिनमा तीन घण्टा पनि इजलास नबस्ने, मुद्धाको पेसी सरेको सर्यै हुने समस्याका कारण अब स्थानीय तहबाट नै न्याय दिनुपर्छ ।’


















