आजदेखि शहीद सप्ताह शुरु , शास्त्रीको स्मरण !

225

 काठमाडौं /  प्रजातन्त्र स्थापनाका लागि जीवन आहूति दिने शहीदको स्मरणमा आजदेखि शहीद सप्ताह शुरु भएको छ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने गरिन्छ ।

Image result for आजदेखि शहीद सप्ताह शुरु , शास्त्रीको स्मरण !सप्ताहको पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित पचलीमा उहाँलाई आज स्मरण गरिएको छ । उक्त स्थानलाई विसं २०३५ मा तत्कालीन काठमाडौँ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेकामा अब उहाँको पूर्णकदको शालिक स्थापना गरेको छ । करीब रु १० लाखको लागतमा निर्मित सो शालिकको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरणसमेत गर्नुभयो । शालिक अनावरणसँगै माल्यार्पण तथा पुष्पगुच्छा अर्पणसमेत गरिएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेल र प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले लेखक विष्णु जोशीले लेख्नुभएको ‘रगतको तर्पण शहीदलाई’ लघु गीतिकाव्य विमोचन गर्नुभएको थियो ।

विसं १९५० मा बनारसमा जन्मनुभएका शास्त्रीलाई निरङ्कुशताविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १० गते टेकुस्थित खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा इन्द्रचोकमा राजनीतिक कार्यक्रम गरी जनतालाई प्रजातन्त्रका पक्षमा एकताबद्ध गराएको आरोप लगाई कारागार सजाय दिइरहेकै बेला उहाँलाई मृत्युदण्ड दिइएको थियो । निरङ्कुश राणा शासनविरुद्ध देशविदेशमा समेत सङ्गठन गर्ने कार्यमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभामा कावा प्रधानमन्त्री पोखरेलले शहीदले देश र जनताका लागि गरेको योगदान कहिल्यै नमर्ने बताउँदै उहाँहरुले देखाएको त्यागको आदर्शलाई प्रेरणाका रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक प्रणाली फेरिएको छ, हाम्रा कार्यभार र जिम्मेवारी पनि बदलिएको छ, देश विकासमा सबै दल हुनुपर्छ, शहीदको सपना सार्थक हुन्छ ।’

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शहीदको बलिदानले देशमा विसं २००७ को क्रान्ति सफल भएको स्मरण गर्दै सामाजिक रुपान्तरणका माध्यमबाट आर्थिक उन्नति गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो । कामपा–१२ का वडाध्यक्ष विकास डङ्गोलले जनताको जीवनस्तमा सुधार ल्याउने गरी आर्थिक रुपान्तरण गर्न सकेमा शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने जनाउनुभयो ।

सप्ताहअन्तर्गत यही माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको सिफलमा तथा माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले वीरगति प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा तथा माघ १६ गते ज्ञातअज्ञात शहीदको सम्झनामा लैनचौरस्थित स्मारकमा श्रद्धाञ्जलिसभा हुनेछ । उक्त दिन बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म शहीदको तस्वीरलाई बग्गीमा राखेर पदयात्रा गरिने छ । सरकार प्रमुख, मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायलगायतको सहभागितामा लैनचौरस्थित स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गरिने छ ।

विसं २००७ मा राजनीतिक आन्दोलन सफल भएपछि त्यसको करीब एक दशकपछि पञ्चायत सरकारले चार शहीदको सम्झनामा विसं २०१८ मा निर्माण गरेको शहीदढोका अद्यापि छँदैछ । वरिष्ठ इञ्जिनीयर शङ्करनाथ रिमालको डिजाइनमा बनेको शहीदढोकामा पूर्वराजा त्रिभुवन र चार शहीदको शालिक राखिएको छ । विसं २०१२ देखि नै कामपा(पहिले नगर पञ्चायत, नगरपालिका) को संयोजकत्वमा प्रत्येक वर्ष शहीद सप्ताह मनाउन थालिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here