सूचना प्रविधि मेला हुने

120

भरतपुर /  सूचना, प्रविधि र मनोरञ्जनका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधिमैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले भरतपुरमा ‘चौथो क्यान इन्फोटेक–२०७५’ सूचना प्रविधि मेला हुने भएको छ ।

कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा यही माघ २५ देखि २९ गतेसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षासम्बन्धि सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० स्टल रहने क्यान चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलन जानकारी दिइएको हो ।

‘चितवनको समृद्धि : सूचना र प्रविधि’ नाराका साथ भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको मेलामा स्टक बुकिङका काम भइरहेको मेला मूल समितिका संयोजक एवम् सङ्घका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।

मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत देखाइने क्यानले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक ‘आइडिया हन्ट’ कार्यक्रम पनि आयोजना गर्ने सङ्घका सचिव सन्तोष भुसालले जानकारी दिनुभयो ।

मेलामा आइटीसम्बन्धी अन्तरकिया कार्यक्रम ‘डिजिटल नेपाल’ प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार आयोजना गर्ने उहाँले बताउनुभयो । अन्तरविद्यालय नृत्य प्रतियोगिता, टोल विकास संस्थाका प्रतिनिधिलाई सूचना प्रविधिसम्बन्धी साक्षरता कार्यक्रमसमेत मेलामा आयोजना गर्ने तयारी गरेको छ ।

यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिँदैछ । मेला प्रवेशका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ को टिकट व्यवस्था गरिएको छ । करीब डेढ लाखले मेला अवलोकन गर्ने र रु ७८ लाखको कारोवार हुने आयोजकको लक्ष्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here