इमान्दार मात्र भएर होइन, सक्रिय इमान्दार भएर काम गर्छु र जनताको वाचा पूरा गर्छु : प्रधानमन्त्री ओली

177

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर युरोपेली युनियनलगायत पश्चिमा देशहरुले गरेको वक्तव्यबाजीप्रति आपत्ति जनाएका छन् ।

स्वीट्जरल्याण्डको ज्यूरिखमा नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गरेको कार्यक्रममा स्वीस व्यापारी, स्वीसमा रहेका नेपाली र विदेशी कूटनीतिज्ञ लगायतको अगाडि प्रष्ट रुपमा प्रधानमन्त्री ओलीले भने, ‘के नेपालमा द्वन्द्व व्यवस्थापन हुनु राम्रो होइन ? अनावश्यक रुपमा विदेशी दूतावासहरुले गठजोड र गुटबन्दी गर्न जरूरी छैन। हिजो लडाइँ थियो। मारामार थियो । हामीले शान्ति प्रकृया अगाडि बढायौं। लडाकु व्यवस्थापन गर्‍यौं। हतियार व्यवस्थापन गर्‍यौं। शान्ति प्रकृयामा विदेशी मित्रहरुले सहयोग पो गर्नुपर्छ । कतै द्वन्द्व व्यवस्थापन होला भन्ने चिन्ता हो कि के हो ?’

प्रधानमन्त्री ओलीले फ्रान्सबाट किनेका जहाजको प्रसंग र युरोपमा नेपाली जहाजलाई प्रवेश निषेध गरिएको सन्दर्भ झिक्दै व्यंगात्मक शैलीमा भने, ‘नेपालको विमानस्थलमा बस्न पनि सक्छ, उड्न पनि सक्छ भनेर मित्र राष्ट्र फ्रान्सले हामीलाई दुई वटा जहाज बेच्यो। अब त्यही जहाज फ्रान्समा आउन मिल्दैन भन्छ।’

कनेक्टिभिटीको काममा सरकारले धेरै प्रगति गरिसकेको दाबी गर्दै भारत र चीन दुवैतिर रेलको सम्भाव्यता अध्ययन भैरहेको जनाउँदै ओलीले चीनतिर बाटो खुल्न लागेको र व्यापार परिवहन सम्झौता भएकोमा केहीलाई टाउको दुखेको जनाए।

टाउको दुख्नेको टाउको दुखे पनि आफूहरूले मूर्ति जस्तो चुपचाप बस्ने इमान्दार होइन, सक्रिय इमान्दार भएर जनताको मतको जिम्मेवारी पूरा गर्ने जनाए । ‘इमान्दार मात्र भएर होइन, सक्रिय इमान्दार भएर काम गर्छु र जनताको बाचा पूरा गर्छु,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here