महर्षि वेदव्यासबारे पढाइ शुरु

727

दमौली, चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको बारेमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले तनहुँको व्यास नगरपालिकाभित्र ‘महर्षि वेदव्यास’ सम्बन्धी पढाइ शुरु भएको छ ।

व्यास नगरपालिकाभित्रका सामुदायिक, संस्थागत विद्यालय, कलेज तथा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई महर्षि वेदव्यास र पराशरको बारेमा जानकारी दिने उद्देश्यले उक्त पुस्तकको पढाइ शुरु गरिएको व्यास नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख अम्बिका आचार्यले जानकारी दिए ।

गत साउनमा बसेको व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका विद्यालयमा व्यासको बारेमा जानकारी दिने पाठ्यक्रम लागू गर्ने निर्णयबमोजिम अतिरिक्त पाठ्यक्रमको रुपमा यससम्बन्धी पढाइ शुरु भएको आचार्यले बताए ।

उनले भने, “यस वर्ष कक्षा ११ मा अतिरिक्त पाठ्यक्रमको रुपमा नगरपालिकाका विद्यालयमा महर्षि वेदव्यासको पढाइ शुरु भएको छ, अर्को वर्ष कक्षा १२ मा पनि यसलाई निरन्तरता दिन्छौँ ।” व्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमि यस ठाउँको महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले पाठ्यक्रम निर्माण गरिएको उनले बताए । उनले भने, “व्यास नगरपालिका व्यासको जन्मभूमि तथा पराशरको तपोभूमि भएकाले यहाँका विद्यार्थीले महर्षि वेदव्यास र पराशर ऋषिका बारेमा जानकारी राखेर देश विदेशमा व्याख्या गर्ने सक्ने बनाउने उद्देश्य राखेका छौँ ।”

उनका अनुसार स्थानीय पाठ्यक्रमअनुसार आधारभूत तहमा समेत अतिरिक्त अध्ययनको रुपमा व्यास पराशरको बारेमा अध्ययन शुरु गर्ने योजना बनाइएको छ ।

व्यासका अध्येता काशीनाथ न्यौपानेद्वारा लिखित ‘महर्षि वेदव्यास’ पुस्तकमा व्यासको जन्मभूमि, व्यासको जन्मको विषय, पराशर ऋषिको कर्मस्थल, सत्यवती, दशराज माझीलगायत पात्रहरुको बारेमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here