कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

163

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय दिनुभएको थियो ।

बिहिवारको बैठक शुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकार जनताका समस्या प्रति गम्भीर बन्न नसकेको जनाए । सांसद रिजालले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनको वातावरण नबनेको जनाएका छन् । रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याउनुभएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गर्नुभयो ।

‘डा.गोविन्द केसी अनशनमा हुनुहुन्छ, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।’, सांसद रिजालले भन्नुभयो ।

राणा, पञ्चायत र ज्ञानेन्द्रले शुरुमा कांग्रेसलाई देखेनन् जतिखेर देखे त्यसबेला ढिला भएजस्तो वर्तमान सरकारका लागि नहोस् सांसद रिजालले भन्नुभयो । निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ, सत्याग्रहमा बसेको छ, उसको ज्यान लिन खोज्ने कि बचाउने ? उहाँले प्रश्न गर्नुभयो ।

संवैधानिक परिषद्ले विभिन्न आयोगका प्रमुखमा सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद रिजालले बोलिसकेपछि कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख महराले चिकित्सा शिक्षा विधेयक विधिअनुसार नै पारित गरिएको उल्लेख गर्नुहुँदै बस्न कांग्रेस सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

सभामुख महराले पटकपटक कांग्रेस bसांसदहरुलाई आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि नबसी उठेर विरोध जनाएपछि सभामुख महराले माघ २० गते आइतबार ३ बजेसम्मका लागि बैठक स्थगन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here