भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको सवाल र गोबिन्द केसीको अनसनको अन्त्य

158

-हुकुमबहादुर सिंह

बितेको हप्तामा नेपालमा दुई प्रमुख घटनाहरू घटे प्रथम भेनेजुएलाको राष्ट्रिय स्वाधीनताको सवालसित जोडिएको प्रचण्डको बक्तब्य र दोस्रो गोबिन्द केसीको आमरण अनसनको मृत्युको घोषणा । भेनेजुएलाको आन्तरिक मामिलामाथि अमेरिकी हस्तक्षेपका बारेका टिकाटिप्पणी र प्रतिक्रियाहरू अहिले पनि चलिरहेका छन् । र, गोबिन्द केसीको आमरण अनसनका दौरानमा उनले उठाएका सवालहरूबारे पनि बहस चल्ने छन् ।

नेकपाका अध्यक्ष प्रचण्डको भेनेजुएलाको आन्तरिक मामिलामाथि अमेरिकी हस्तक्षेपबारे एउटा वक्तब्य आयो । केपीओली नेपाल आउनु एक दिनअघि उनको त्यो वक्तव्य आएको थियो । उनले उक्त वक्तव्य प्रकाशित गर्नु अगाडि आफ्नो पार्टिभित्र केही सरसल्लाह गरे वा एक्लै त्यो वक्तव्य निकाले उनलाई थाहा होला । तर उनको अमेरिकाको भेनेजुएलामाथिको कारबाहीलाई उनले अमेरिकी हस्तक्षेप भनेर निकालेको वक्तव्यले नेपालको आन्तरिक राजनीतिमा केही हलचल ल्यायो, खासगरी अमेरिकी स्वार्थलाई अन्य देशको राष्ट्रिय स्वाधीनताभन्दामाथि राख्ने नेपाली कांग्रेस, राप्रपाजस्ता दल र तिनका नेताहरूमा अमेरिकालाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भनेर अमेरिकी राजदूतको वरिपरि कसरी रहन सकिन्छ भन्ने अभिप्राय तत्वहरू र अझ बढ्ता त नेपालको एउटा प्रमुख मिडियाले यसको नेतृत्व नै गरेको देखियो । आफूलाई लोकतन्त्रको मसिहा ठान्ने उक्त पत्रिकाले त आफूलाई अमेरिकी समर्थकहरूको लिस्ट–युरोप, क्यानडाजस्तै लहरमा राख्ने कुप्रयास गरेको देखियो ।

नेपालले लामो समयदेखि सन् १९६० को वांगडुंग सम्मेलेनदेखि आफुलाई एउटा असंलग्न देशको रूपमा उभ्याएर त्यही आधारमा विश्वका घटनाहरूलाई विरोध र समर्थन गर्दै आएको स्पष्ट छ । त्यही आधारमा अहिलेको भेनेजुएलाको घटनाप्रति पनि हो । र त्यो स्पष्टतः भेनेजुएलाको आन्तरिक मामिला हो र त्यसमाथि अमेरिकीले लिएको मार्ग उसको उक्त देशमाथिको हस्तक्षेप नै हो भन्न हिच्किचाउन पर्ने कारण थिएन । तैपनि नेपालको राजनीति र सत्तामा अमेरिकी लबि कति चलायमान रहेछ भन्ने प्रश्नको अलिकति उत्तर यसले दिएको छ ।

भेनेजुएलाको राजनीतिक घटनाक्रमलाई लिएर नेपाली कांग्रेस र राप्रपाजस्ता दल र तिनका नेताहरूले अमेरिकी दलालका रूपमा आफूलाई अगाडि सारेको देखियो । उनीहरूको भनाइमा भेनेजुएलासित नेपालको कुटनीतिक सम्वन्ध छैन, त्यसै कुटनीतिक सम्वन्ध नभएका देशभित्र भएका घटनाक्रमवारे बोलेर अमेरिकाजस्तो नेपालको दातालाई चिढाउनु आवश्यक छैन भन्ने तर्क उनीहरूको छ । नेपालको असंलग्न परराष्ट्र नीतिलाई बेवास्ता गरी आएका उनीहरूका यी भनाइहरूले स्वयम् नेपालजस्ता साना तथा गरिब देशकोे आत्मनिर्णयको अधिकारमाथि कस्तो नकारात्मक असर पर्नेछ, यसवारे उनीहरूमा चेत देखिएन । मानौ भोलि नेपालमा यस्तै अवस्था आयो भने के होला ? आमसभाबाटै आफूलाई राष्ट्रपति घोषणा गर्ने, त्यो पनि संसदीय लोकतन्त्रको वकालत गरेर नथाक्नेहरूबाटै । यसबारे उनीहरूमा खासै रणनीतिक सोच नआएको स्पष्ट हुन्छ । अर्कोतर्फ अमेरिका जो नेपालको मद्दतबाट चीनलाई घेराबन्दी गरेर आफ्नो अस्तित्व बचाउन चाहन्छ, त्यसको रणनीतिमा नेपाल गएर के नेपालको विकास होला ? यो रणनीतिमा नेपाल ओली सरकारले आफ्नो परराष्ट्र मन्त्रीलाई अमेरिका पठाएर अमेरिकासितको विगतमा ‘चिसिएको’ सम्बन्ध अब राम्रो भयो भनेर केही हदसम्म फसेको थियो । अहिले अमेरिकासितको सम्बन्ध झन बिग्रियो भन्दै नेपालका केही राजनीतिक दल, नागरिक समाज र स्वयम् नेकपाभित्रका केही नेताहरूले भन्दै हिंडेकोबाट के स्पष्ट हुन्छ भने नेपालमा भारत र चीनको मात्रै होइन यहा“ अमेरिका र युरोपियनहरूका चाहनाहरू र उद्देश्यहरूलाई पूरा गर्न सहयोग गर्ने राजनीतिक दलहरू, नागरिक समाजका रूपमा आइएनजिओहरू, पत्रकारहरू तथा मिडियाहरूको बलियो सञ्जाल रहेको छ भन्ने स्पष्ट हुन गएको छ । के स्पष्ट हो भने विश्वमा भएगरिएका हस्तक्षेपहरूको विरोध गरिनु पर्दछ, भनेजुएलाबारेको अमेरिकी हस्तक्षेपबारेको विरोध पनि यसैको सेरोफेरोमा हेरिने कुरा हो । प्रचण्डले वक्तव्य निकालेपछिको अवस्थामा जसरी उनले साथीहरूले मलाई फसाए भनेर आफ्नो कमजोरी भन्दै हिंडे, त्यसले पनि उनमा रहेको डर र त्रासले घर गरेको स्पष्ट हुन्छ ।

अर्कोपक्ष हो गोविन्द के.सी.को १६औ आमरण अनसनको अन्त्य । गोविन्द के.सी. जो सुरुमा सही अर्थमा नेपाली गरिब जनताका छोराछोरीको पक्षमा स्वास्थ्यलाई लैजाने काममा लागेको देखिएका थिए, जब उनी जनजनमा लोकप्रिय बन्दै गए क्रमशः उनीभित्रको कम्युनिष्ट विरोधी प्रबृति र चरित्रलाई वैदेशिक शक्तिकेन्द्रहरूले खेल्न थाले । उनका अभिव्यक्तिहरू एउटा निश्चित राजनीतिक दलका अभिव्यक्तिका रूपमा र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई रिझाउने हिसाबले बाहिर आउन थाले । अब उनी एउटा स्वतन्त्र अभियानकर्ता रहेनन् । उनले ओलीको स्वास्थ्यका बारेमा जे बोले त्यो उनको तल्लोस्तरको अभिव्यक्ति थियो । उनले आफ्नो एजेण्डामा बेप्रसंगको द्वन्दकालीन मुद्दा जोडेर आफूलाई राजनीतिककर्मीका रूपमा अगाडि बढाएको देखियो । यसरी उनले उनको यो पछिल्लो अनसनबाट त अब उनमा भावी अनसनका लागि बाटो बन्दै गरेका छन् किनभने अब उनी नेपाली कांग्रेसको एक इमान्दार कार्यकर्तामा रूपान्तरण भएका छन् । नेपाली कांग्रेसका अध्यक्ष शेरबहाद«रको हातबाट र अन्य कांग्रेसीहरूको सल्लाह र सुझावमा आफ्नो १६औ अनसन तोडेका छन् र तिनीहरूको हातबाट जुस पिएका छन् । यसबाट उनको स्वतन्त्र छवि धमिलिएको मात्रै छैन्, यसले उनको आमरण अनसनको यात्राले पनि सदाका लागि मृत्युपरण गरेर टुंगिएको छ । यद्यपि उनका विगतका आन्दोलनबाटै नेपालको स्वास्थ्य क्षेत्रमा केही सकारात्मक परिणाम निस्केका हुन् ।

नेपालमा विगतदेखि वर्तमानसम्मको समस्या के हो भने कुनै व्यक्ति वा संस्थाले देश र जनताका पक्षमा स्वतन्त्र रूपमा जे काम गर्न थाल्दछ, र उ जनताका बीचमा लोकसप्रय बन्न थाल्दछ, त्यसभित्र देशीविदेशी शक्तिकेन्द्रहरूले कसरी त्यसलाई आफ्नो पक्षमा काम गराउन सफल हुन्छन् भन्नेबारे विगतको नेपालको माओवादी आन्दोलनको विघटन र हालेको गोविन्द के.सी.को आमरण अनसनको सदाका लागिको अन्त्य नै काफी छ । hukumsingh2012@gmail.com- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here