राधा चौधरीहरूले रेणु दाहालहरूका विरुद्ध हतियार बोक्ने दिनहरू आउँदै

224

– राज्यलक्ष्मी शाक्य

देशमा नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइ बहुमतको सरकार बनेको अवस्था छ । तर, आम सर्वसाधारण जनता यो सरकारप्रति निराश बनिरहेका छन् । अहिले जताततै अर्काे नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) तर्फ जनआकर्षण बढिरहेको छ । तत्कालीन माओवादीले सशस्त्र युद्ध गर्दाताकाको अवस्थाको विकास गाउँ गाउँमा हुन थालेको महसुस भइरहेको छ । बोक्सी आरोपित राधा चौधरीजस्ता पीडित महिलाहरू सरकारप्रति आशावादी बन्नपर्ने अवस्था छैन । त्यसैगरी निर्मल पन्तजस्ता बलात्कार र हत्याका शिकार भएका नारीहरूका परिवारहरू अब ओली सरकारप्रति आशावादी भएर बस्नुपर्ने अवस्था समाप्त भइसकेको छ । यस्ता पीडितहरूले विप्लव नेतृत्वकै शरण खोज्नुपर्ने अवस्था देखिन्छ ।

तत्कालीन समयमा माओवादीले देशको शासन व्यवस्थामाथि असन्तुष्टि प्रकट गर्दै सशस्त्र युद्धको घोषणा गरेको थियो । माओवादीले त्यसबेला अहिलेजस्तै अन्याय, विकृति र विसंगतिका विरुद्ध हतियार उठाएको थियो । हतियारको राप कति छिट्टै विस्तारित भएको थियो भन्ने कुरा आजका सत्तासीन कम्युनिष्ट नेताहरूले बुझ्न जरुरी छ । शासन गर्ने सवालमा त पञ्चहरूले पनि गरेकै थिए, कांग्रेसले पनि गरेकै थियो । त्यही शैलीमा शासन गर्ने हो भने आफूलाई कम्युनिष्ट किन भन्नुप¥यो ? पुरानै शासकहरूको कार्यशैलीलाई अपनाउने हो भने कम्युनिष्टको मुकुण्डो लगाउनुको अर्थ छैन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ताहरू अहिले देशभर नै शान्तिपूर्ण रूपमा जनताका बीचमा आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । राधा चौधरीमाथि बोक्सीको आरोप लागेर उनीमाथि कथित भोलेबाबाले गरेको अमानवीय कुटपिट रमिता हेर्न बाध्य भएका जनतालाई आकर्षित तुल्याउने गरी राधा चौधरीले समाज परिवर्तनका लागि विप्लव नेतृत्वको पार्टीलाई रोज्नु भनेको वर्तमान सरकारलाई ठूलो चुनौती हो । यो वास्तविकतालाई नबुझ्ने हो भने केपी ओलीले १४ वर्षसम्म जेल बसेको र प्रचण्डले १० वर्षसम्म जनयुद्धको नेतृत्व गरेको कुनै अर्थ रहने छैन । जेल जीवन भोग्नु पर्नाको कारण के थियो ? किन जेलमा परिएको हो ? किन झापा विद्रोह सुरु गरिएको हो ? प्रधानमन्त्री केपी ओलीले आफ्नो इतिहास स्मरण गर्नुपर्छ ।

त्यसैगरी ०५२ फागुन १ गतेदेखि जनयुद्धको सुरुआत गर्दा नेपाली समाजको अवस्था कस्तो थियो र आज कस्तो छ ? जनयुद्धको नेतृत्व गरेका प्रचण्डले आफ्नो विगतलाई सम्झना गर्दै आजको अवस्थालाई तुलना गर्नुपर्छ । राजतन्त्र फालेर राजाको ठाउँमा आफूलाई नवराजाको उभ्याउनु नै परिवर्तन हो भन्ने ठानिन्छ भने राधा चौधरीजस्ताले बन्दुक उठाए भने त्यसको परिणाम के हुन्छ ? आजकी राधा चौधरी र हिजोकी रेणु दाहाल बीचमा केही अन्तर छ कि छैन ? समीक्षाको विषय हो । राधा चौधरीले किन प्रचण्डको पार्टीलाई नरोजेर विप्लवको पार्टीलाई रोज्न पुगिन् ? यो गम्भीर प्रश्न हो । विप्लव तिनै व्यक्ति हुन्, जो पचासको दशकमा प्रचण्डको नेतृत्व स्वीकार्दै माओवादीले सुरु गरेको जनयुद्धमा पनि सहभागी थिए । उनी माओवादीका ठूलै नेताका रूपमा रहेका थिए । संयोगवश भन्नुपर्छ तत्कालीन माओवादीको नेतृत्व अहिले सरकारमा छ भने त्यही माओवादी पार्टी परित्याग गरी विप्लवले छुट्टै पार्टी निर्माण गरी विभिन्न रूपमा आन्दोलन गर्दै आएका छन् । विप्लव नेतृत्वको नेकपाको अहिले देशैभर नै उपस्थित देखिन थालेको छ । उनको पार्टीका गतिविधिविरुद्ध जनतामा कुनै गुनासो नदेखिनुले उनलाई जनसमर्थन पनि बढ्दै गएको बुझ्न सकिन्छ । तर, सरकार र राजनीतिक दलहरूले भने विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई बेवास्ता गरिरहेका छन् ।

जनयुद्ध हुँदा पनि सरकारमा बस्नेहरूले तत्कालीन माओवादीहरूको असन्तुष्टि र मागहरूलाई बेवास्ता गरेका कारण युद्धले देशव्यापी रूप धारण गरेको थियो । माओवादीको आन्दोलनले के नै असर गर्ला र भन्ने आशयका साथ तत्कालीन संवैधानिक राजतन्त्रवादी पार्टीले व्यवहार गरेका थिए । तर, त्यो उनीहरूको भूल हुन पुग्यो र देशले १० वर्षसम्म आन्तरिक युद्धको अवस्था झेल्नुप¥यो । यसमा तत्कालीन सरकार र त्यो निकायमा बस्ने व्यक्तिहरूको ठूलो गल्ती थियो । युद्धका कारण नेपालको आर्थिक अवस्था तहसनहस भयो । आर्थिक विकासका मुद्दा ओझेल परे । देशको विकास नै १०÷२० वर्ष पछाडि धकेलियो । अहिले त्यसैगरी विप्लव नेकपाको असन्तुष्टि र मागलाई बेवास्ता गरिएको छ । देशैभरि नै विप्लव नेकपाका कार्यकर्ताहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । सत्ता पक्षबाट यस्तै किसिमको व्यवहास भइरह्यो भने फेरि हतियार उठ्ने निश्चित छ । राधा चौधरीहरूले रेणु दाहालहरूका विरुद्ध हतियार बोक्नुपर्ने अवस्था देशमा विकसित भइरहेको छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here