भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन राष्ट्रपतिको आह्वान

164

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको जनाउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी छ भन्नुभयो ।

सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण र सुशासन अभिवृद्धि गर्न सकिने औँल्याउँदै राष्ट्रपतिले भन्नुभयो, `नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने सुनिन गएको छ, यो चिन्ताको विषय हो ।´

भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको जनाउँदै उहाँले गैरकानूनी तवरबाट आर्जित धन सम्पत्तिले क्षणिक लाभ भए पनि अन्तत्वगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रुपमा नकारात्मक असर पार्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्ने जनाउनुभयो ।

राष्ट्रपतिले भन्नुभयो, `विष वृक्ष जस्तै भ्रष्टाचार सबैका लागि पीडादायी हुनुपर्नेका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण कठिन हुँदै जान्छ र समाजका हरेक क्षेत्रलाई क्षत्बिक्षत र तहस नहस बनाउँदै जान्छ ।´

उहाँले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएको सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरुप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने जनाउनुभयो ।

नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसबाट सिर्जित दायित्व निर्वाहका लागि आवश्यक कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गरी प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोगको खाँचो आैंल्याउनुभयो ।

उहाँले समयक्रमसँगै भ्रष्टाचारको स्वरुप र शैलीमा पनि परिवर्तन हुँदै गएको हुँदा नवीनतम् प्रविधिको प्रयोग गर्दै आयोगले आफ्ना गतिविधिलाई परिमार्जन गर्दै भ्रष्टाचार नियन्त्रणमा अझ सक्रिय र सबल भई अगाडि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगका कामकारवाहीबाट विनियोजित स्रोत साधनको सदुपयोग गर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने जनाउनुभयो ।

उहाँले भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी अभियोजन गर्ने संवैधानिक जिम्मेवारी आयोगमा रहे पनि मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै सरोकारवाला पक्षको सहकार्य र सहयोगको खाँचो आैंल्याउनुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचरका परिणामबारे जानकारी नुहने व्यक्तिलाई सचेतनामूलक कार्यक्रममार्फत सुसूचित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने दायित्व भएका व्यक्तिबाट नियतवश हुने कार्यलाई दण्डात्मक कारवाहीबाट निरुत्साहित गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक पदधारण गरेका व्यक्तिले गर्ने भ्रष्टाचारजन्य कार्यले कुनै न कुनै रुपमा सार्वजनिक स्रोतको अपव्यय हुनाका साथै जनताको सेवा प्राप्त गर्ने अधिकार कुण्ठित हुने र मुलुकको विकास र समृद्धिमा बाधा पुग्ने जनाउनुभयो ।

भ्रष्टाचारजन्य कार्यपछि हुने दण्डात्मक कारवाहीले मात्र अतुलनीय क्षतिको पूर्ति हुन नसक्नेतर्फ सचेत गराउँदै राष्ट्रपतिले भ्रष्टाचार भइसकेपछि कारबाही गर्नेभन्दा भ्रष्टाचार हुनै नदिने अवस्थाको सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, `सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि भ्रष्टाचार गर्न नदिने कुरा प्रति प्रतिबद्ध हुनु नै भ्रष्टाचार नियन्त्रणको सबैभन्दा उत्तम उपाय हो ।´

राष्ट्रपतिले आयोगले आगामी दिनमा निष्ठापूर्वक, सक्रिय रही संवैधानिक भूमिका निर्वाह गर्ने अपेक्षासमेत व्यक्त गर्नुभयो । उहाँले समाजका विभिन्न क्षेत्र, तह र तप्काबाट अपेक्षा गरिएका नागरिकका आशा, भरोसा र विश्वासलाई पूर्रा गर्न सफल हुने शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचार विरोधी महाअभियानमा आ–आफ्नो स्थानबाट साथ दिन र भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता अपनाउन आह्वान गर्नुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले आयोगको वार्षिक प्रतिवेदनको लोकर्पणसमेत गर्नुभयो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here