अन्ततः नेपाल पानीजहाज कार्यालयकाे उद्घाटन भएरै छाड्यो

422

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बिहान आयोजित एक समारोहका बीच एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित देश नभएको उहाँले औँल्याउनुभयो । उहाँका अनुसार भारतको गङ्गा नदीमा नेपालकै नदीबाट सुख्खायाममा ७२ प्रतिशत र वर्षायाममा ४० प्रतिशत पानी नेपालबाट नै जान्छ । उहाँले भन्नुभयो, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन।’

अहिले रेलभन्दा पनि जलयातायात चाँडो सञ्चालनमा आउने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले कस्तो जहाज बन्ने गर्छ, त्यो हेरेर होइन यहाँको भूबनोटअनुसार जहाज निर्माण गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले विसं २०२७ मा नै पानीजहाजको सम्भावनाका बारेमा अध्ययन भएको पाएको बताउनुभयो । गत वर्ष भारत भ्रमणमा जाँदा आफूले पानीजहाज सञ्चालन र काठमाडौँ–रक्सौल रेलको सम्भावनाका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । भारतसँग ‘कनेक्टिभिटी’ (सम्पर्क सञ्जाल) मा नयाँ आयाम थपिएको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म सडक र हवाईमार्गबाट मात्रै जोडिएकामा जल यातायात र रेल यातायातबाट पनि हामी जोडिँदैछौँ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राष्ट्रिय झण्डा राखेर पानीजहाज चलाउनु नेपालका लागि गर्वको विषय भएको बताउनुभयो । भूपरिवेष्ठित देशमा पानीजहाज धेरै नेपालीले असम्भव विषय सोच्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हिजो पानीजहाज सम्भव छ र रु भन्नेहरुले नै हामीलाई घच्घच्याइरहनुभएको थियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here