नेपाल लेखापढी कानून व्यवसायी संघ पाटन इकाईको २२ औँ वार्षिक साधारणसभा

363

ललितपुर /  नेपाल लेखापढी कानून व्यवसायी संघ पाटन इकाईको २२ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ललितपुरको थसिखेलमा जिल्ला अदालत ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा जिल्ला न्यायाधीश दवाडीले २२ औँ साधारणसभा फलिभूत रहोस् भन्दै शुभकामना व्यक्त गरे । उनले न्यायिक र अर्धन्यायिक सरकारी निकायका काम कारबाहीहरु अहिले प्रविधिमैत्री बन्दै गएको जनाउँदै त्यसअनुसार सेवाग्राहीलाई लेखापढी व्यवसायीले सेवा दिनु पर्ने जनाए ।

कार्यक्रममा बोल्दै नेपाल लेखापढी कानूनन व्यवसायी संघका केन्द्रीय अध्यक्ष सीताराम दाहालले सरकार र मन्त्रीस्वयम्बाट आएका परिपत्रहरु स्पष्ट नभएको जनाए । जसले गर्दा लेखापढी व्यवसायीलाई काम गर्न र सेवाग्राहीलाई सेवा लिन पनि समस्या भइरहेको जनाए । अस्पष्ट व्याख्या र निर्देशनका कारण दुविधा सिर्जना भएको उनले जनाए । कित्ताकाटको विषयमा परिपत्र र कानूनअनुसार काम गर्न खोज्दा कर्मचारीले अपव्याख्या गरेर काम रोक्ने अवस्था आएको उनले सुनाए । स्पष्ट नपारिदिँदा सेवाग्राही मारमा परेको उनको भनाई छ ।

अर्को प्रसंगमा बोल्दै अध्यक्ष दाहालले विगत लामो समयदेखि सेवाप्रदान गर्दै आएको संस्था र पेशाप्रति सरकार नकारात्मक भएको जनाए ।लेखापढी पेशालाई व्यवस्थित गरेर लैजानुको सट्टा हचुवाको भरमा मन्त्रीले निर्णय गरिदिनाले आफूहरुलाई नागरिक र सरकारको पनि हेर्ने दृष्टिकोण नकारात्मक भएको उनले जनाए । लेखापढी व्यवसायीलाई मार पर्नेगरी अनावश्यक रुपमा कदम चाले राम्रो नहुने चेतावनी दिँदै उनले भने, ‘लेखापढी व्यवसायीलाई समाप्त पार्ने काम भए हामी पनि चुप लागेर बस्दैनौँ ।’ यो अरिङ्गालको गोलो भएकोले हात नहाल्न उनले चेतावनी दिए ।

कार्यक्रमका विशेष अतिथि मालपोत कार्यालय ललितपुरका प्रमुख भीमकान्त पौडेलले वार्षिक ५ अर्बको राजश्व ललितपुर कार्यालयले मात्रै संकलन गरिरहे पनि सरकारले कार्यालयलाई ५ लाख पनि बजेट नदिएको गुनासो गरे । कार्यालयको क्षमता वृद्धिका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै प्रमुख पौडेलले एक ढोकाबाट निवेदन दर्ता गरेर सीधै अर्को ढोकाबाट प्रमाणपत्र लिने व्यवस्था गर्न लागिएको जनाए । कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको जनाउँदै पौडेलले कर्मचारी र लेखापढी व्यवसायीकालागि कार्यालयमा आइडी कार्ड अनिवार्य गरिएको बताए । उनले कर्पोरेट गभर्मेन्टलाई सहयोग पुग्नेगरी काम गर्न पनि लेखापढी व्यवसायीहरुलाई आग्रह गरे ।

साधारणसभाको बन्दसत्रमा कार्यसमितिका अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरिएको छ भने लेखापरीक्षक नियुक्त पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here