बुटवल । पाल्पाको तानसेनमा जितगढी युद्धको सम्झनामा रणउजिरेश्वरी भगवती जात्रा मनाइँदै छ ।
जात्राको अवसरमा आज एक दिन पाल्पा जिल्लाभर सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सरकारले २०३औं संस्करणको भगवती जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिर सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । त्यसैको सम्झनामा १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको इतिहास छ ।
जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने अध्यक्ष महर्जनले बताए ।
जात्राको अवलोकन गर्न ५० हजारभन्दा बढी मानिस तानसेन आउने आयोजकको अनुमान छ । जात्रा हेर्न पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही, अर्घाखाँची, काठमाडौं, पोखरा लगायतका ठाउँबाट दर्शनार्थी तानसेन पुग्ने गरेका छन् ।


















