नाका बन्द गरिएपछि भेनेजुएलामा संकट

80

भेनेजुएला / भेनेजुएलामा पठाइएका मानवीय सहायता सामग्री छिमेकी मुलुक कोलम्बियासँगको सीमामा थन्किएका छन् ।

सरकारले कोलम्बियासँगको सीमा बन्द गरेपछि भेनेजुएलाको सीमामा सयौँ हजार टन मानवीय सहायताका सामग्री थन्किएका हुन् । विपक्षी नेताको आह्वानमा पश्चिमा मुलुकहरूले भेनेजुएलामा मानवीय सहयोगका सामग्री पठाउन थालेपछि सरकारले सीमा बन्दको घोषणा गरेको हो ।

खाद्यान्न र औषधिसहितका सहायता सामग्रीलाई राष्ट्रपति मदुरोले अस्वीकार गरेका छन् । दैनिक अत्यावश्यकीय सेवा अभाव भएपछि विपक्षी नेताको आह्वानमा अमेरिकालगायत पश्चिमा मुलुकहरूले केही दिनअघि भेनेजुएलाका लागि सहायता सामग्री पठाएका थिए ।

यात्रा प्रतिबन्धको अवज्ञापछि सीमा बन्द
सीमा बन्द गर्नुअघि सरकारले विपक्षी नेता हुवा गुएइदोलाई विदेश भ्रमणमा प्रतिबन्ध लगाएको थियो । यात्रा प्रतिबन्धको अवज्ञा गर्दै विपक्षी नेता गुएइदो भेनेजुएलासँगको सीमावर्ती सहर कुकुता पुगेको केही घन्टापछि सरकारले कोलम्बियासँगको सीमा बन्द गरेको थियो । गुएइदोलाई कुकुतामा कोलम्बिया, चिली र पाराग्वेका राष्ट्रपतिहरूले स्वागत गरेका थिए । यी तिनै राष्ट्रले ३५ वर्षीय गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन् । भेनेजुएलाको सशस्त्र सेनाको सहयोगमै आफू सीमामा पुगेको उनले दाबी गरेका छन् । सेनाको समर्थन मदुरोलाई नै रहेको बताइँदै आएका वेला विपक्षी नेताको दाबीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।बिहीबार मात्र सरकारले ब्राजिलसँगको सीमा बन्द गरेको थियो । विपक्षी नेता गुएइदोको आह्वानमा ब्राजिलमा पनि भेनेजुएलाका लागि सहायता सामग्री संकलन भइरहेको छ ।

जारी छ हिंसा

सहायता सामग्री वितरणबारे मदुरो पक्ष र गुएइदो पक्षबीच विवाद हुँदा ठाउँ–ठाउँमा सुरक्षाफौजसँग झडप भएका छन् । शनिबार ब्राजिलसँगको सीमामा सुरक्षाफौजको गोली लागेर दुईजनाको मृत्यु भएको छ । भेनेजुएलामा जारी पछिल्लो हिंसाको अमेरिकाले निन्दा गरेको छ । ‘मानवीय सहायता सामग्रीलाई शान्तिपूर्वक भेनेजुएला प्रवेश गर्न सेनाले अनुमति दिनुपर्छ । यसबारे विश्व समुदायले ध्यानपूर्वक अवलोकन गरिरहेको छ,’ अमेरिकी सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच, दक्षिणी भेनेजुएलाको कुमारकापेमा सरकारी सेना र त्यहाँको जनजाति समुदायका सदस्यहरूबीच ताजा हिंसा भएको छ । आफ्नो क्षेत्रतर्फ गुडेका सेनाका गाडीलाई सडकमा अवरोध गरेपछि सेनाले सर्वसाधारणमाथि अन्धाधुन्द फायरिङ गरेको थियो । फायरिङमा केही व्यक्ति घाइते भएका छन् । पछिल्ला दिनमा कुमारकापेमा सेनाले सुरक्षा व्यवस्था कडा पारेको छ ।

‘शान्तिका लागि सीमानाका बन्द’
भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति कायम गर्न छिमेकी मुलुक कोलम्बियासँगको सीमा बन्द गरिएको बताएका छन् । सुरक्षाका कारण देशको ताचिरा राज्यमा पर्ने सीमानाका बन्द गरिएको उनले बताए । ‘भेनेजुएलामा पूर्ण शान्ति स्थापनाका लागि सीमा बन्द गरिएको हो,’ काबेल्लोले सीमा क्षेत्रमा आयोजित एक कार्यक्रममा भने । सरकारी उच्च अधिकारीहरूसँग आफूले देशका धेरै ठाउँ भ्रमण गरेको बताउँदै उनले भने, ‘ती ठाउँमा शान्ति छ । हाम्रो चासो शान्ति र स्वतन्त्र राज्यको सम्मान हो ।’

यस्तै, उपराष्ट्रपति डेल्सी रोड्रिगुएजले देशको सार्वभौमसत्ता र सुरक्षामाथि गम्भीर खतरा भएकाले आंशिक रूपमा सीमा बन्द गरिएको बताए । भेनेजुएलामा विपक्षी नेता गुएइदोले २३ जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राजनीतिक संघर्ष चर्किएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here