काठमाडौं / देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आइतबारदेखि शुरुहुने प्रथम राष्ट्रिय सम्मेलनको प्रचार प्रसारमा जुटेका विद्यार्थीहरुमाथि प्रहरी हस्तक्षेप भएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चाको सम्मेलनको प्रचारका लागि विभिन्न नाराहरु लख्दै हिडेका क्रान्तिकारी माओवादी निकटको अखिल क्रान्तिकारीका नेता, कार्यकर्ताहरुको समूहमाथि काठमाडौंमा प्रहरीले माथिको आदेश भन्दै हस्तक्षेप गरेको हो ।
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी निकटको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरीकृष्ण गजुरेलले मोर्चाको सम्मेलनको प्रचार प्रसारका क्रममा प्रहरीले अनावश्यक रुपमा हस्तक्षेप गरेको र त्यसको विद्यार्थीहरुले प्रतिकार गर्न खोज्दा तनावको सृजना भएको थियो ।
मोर्चाको सम्मेलनका सन्दर्भमा नाराहरु लख्न त्रिचन्द्र कलेजको बाहिरी पर्खाल तयार भएको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको बुझिएको छ ।
प्रहरी पटक पटक भित्तेलेखनमा रोक लगाएपनि विद्यार्थीहरुले भने आफ्नो प्रयास जारी रखेपछि त्यहाँ केहीबेर दोहोरो झडप जस्तो तानातानको स्थिति उत्पन्न भएको थियो ।
डीएसपीको कमाण्डमा खटिएको प्रहरीको टोलीको अगाडी अखिल क्रान्तिकारीका युवाहरुले क्याम्पसको भित्तामा ‘चैत्र २४ गते भृकुटी मण्डप जाऔं, देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय सम्मेलन भव्य रुपले सफल पारौं’ भन्ने नारा लेखेपछि प्रहरी आक्रोशित भएर हस्तक्षेपमा उत्रिएको जनाएको छ ।
अखिल क्रान्तिकारीले सम्मेलनको विषयमा काठमाडौंको त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस लगायतका मुख्य स्थानहरुमा भित्तेलेखन सम्पन्न गरेको जनाएको छ ।
सम्मेलनको क्रममा मोर्चालाई आवश्यक सबै सहयोग गर्ने अखिल क्रान्तिकारीले यस अघिनै निर्णय गरेको जनाइएको छ ।
त्यहि क्रममा देजमो नेपालको सम्मेलनको देशभर प्रचार प्रसारको काम भएको जनाइएको छ ।
विभिन्न चोक, मुख्य सडकहरुमा सम्मेलनका नाराहरु लेखिएका छन भने जिल्लाहरुबाट सम्मेलनको लागि काठमाडौं आउने क्रम समेत शुरु भएको छ ।
















