सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने

269

काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा. विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको छ । ‘संघीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरु भएको पाचौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा देवकोटाले संघीयता कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्र अग्रणी रहेको जनाए ।

उनका अनुसार ‘स्वास्थ्य, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक’ बनाउने मूल ध्येयका साथमा मन्त्रालयले नयाँ स्वास्थ्य नीतिलाई कार्यान्वयनमा ल्याएको छ । विगत २० वर्षमा नेपालले आमा तथा नवजात शिशु, सरुवा रोग नियन्त्रण, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी समायोजनका समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको जनाए।

तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एक हजार वैज्ञानिकको सहभागिता छ ।

स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य सम्बर्द्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here