नवनियुक्त सदस्यहरूको स्वागत तथा छलफल

87

 काठमाडौं / विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै पत्रपत्रिका वितरण सम्परीक्षण समिति (एबिसी) मा मनोनयन हुनुभएका सदस्यहरूलाई मंगलबार प्रेस काउन्सिल नेपालमा स्वागत गरिएको छ ।

२०७६ बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णयानुसार प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० (२) को खण्ड (घ) बमोजिम एबिसीको सदस्यकोरूपमा लेखा परीक्षण संघ, नेपाल विज्ञापन संघ र नेपाल उद्योग बाणिज्य महासंघबाट क्रमशः राजु ढकाल, नारायणकुमार श्रेष्ठ र राजकुमार भट्टराई मनोनयन हुनुभएको हो ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै आ.व. २०७४।७५ को पत्रपत्रिकाको वर्गीकरण छिटोछरितो अघि बढाउन सुझाव दिनुभयो । सदस्यहरूले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । काउन्सिल सदस्य खिलबहादुर भण्डारीले पहिलो चरणमा ‘क’ वर्गका पत्रपत्रिकाको मूल्यांकन गर्दा स्थलगत निरीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

निमित्त मुख्य अधिकृत दीपक खनालले आ.व. २०७४।७५ मा ८६६ पत्रपत्रिकाको वर्गीकरणको लागि आवेदन परेको जानकारी गराउनुभयो ।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० बमोजिम गठित एबिसीको अध्यक्षमा प्रेस रजिष्ट्रार रहने, प्रेस काउन्सिल, सञ्चार मन्त्रालय, लेखापरीक्षण संघ, बिज्ञापन संघ, उद्योग बाणिज्य महासंघबाट एक/एकजना सदस्य प्रतिनिधित्व हुने व्यवस्था छ । समितिको सचिवकोरुपमा प्रेस काउन्सिलको अधिकृत रहने व्यवस्था छ ।

रिपोर्ट : महेन्द्रराज सिंह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here