काठमाडौं / कर्णाली प्रिमियर लिगको फाइनलमा त्रिभुवन आर्मी क्लब र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुने
भएको छ । पहिलो सेमिफाइनलमा न्यू होराइजनले आयोजक कर्णाली एघारलाई र दोस्रो सेमिफाइनलमा आर्मीले एपीएफलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । सुर्खेतस्थित कालुङ्गचोक मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा शक्ति गौचन कप्तान रहेको न्यू होराइजनले कर्णाली एघारलाई तीन विकेटले पराजित गर्दै फाइनलमा पुग्न सफल भयो । वर्षासँगै हावाहुरीको कारण १३ ओभर छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली एघारले चार विकेटको क्षतिमा ६२ रन मात्रै बनाउन सक्यो । कर्णालीका कृष्ण कार्कीले ३३ रन बनाए । न्यू होराइजनका लागि शक्ति गौचनले दुई विकेट लिए ।
६३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्यू होराइजनले ११।५ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । न्यू होराइजनको जितमा शुभेन्दु पाण्डेले १८ रन बनाए । कर्णालीका लागि किशोर महतोले ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिए । त्यस्तै, दोस्रो खेलमा विभागीय टिम आर्मीले अर्को विभागीय टिम एपीएफलाई एक विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाउन सकेको थियो । एपीएफको लागि शरद भेषावकरले ३० र भुवन कार्कीले १९ रन बनाएका थिए । आर्मी बलर सोमपाल कामीले तीन र सुशन भारीले दुई विकेट लिएका थिए ।
८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको आर्मीले १७।४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । आर्मीको लागि सोमपालले ३१ रन बनायो । कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

















