काठमाडौं / नेपाल पत्रकार महासंघले सभामुख कृष्णबहादुर महरालाई मिडिया काउन्सिल विधेयक प्रेसमैत्री हुनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको छ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने भन्दै फिर्ता लिन आन्दोलन गरिरहेको महासंघले सोमबार सभामुख महरालाई भेटेर विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्न आग्रह गरेको हो।
महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलगायतले सभामुख महरालाई भेटेर प्रेसमैत्री विधेयक बनाउनुपर्ने जनाएका हुन्।
सभामुख महराले विधेयक प्रेसमैत्री हुने गरी बनाउन पहल गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।
सरकारले सरोकारवाला पक्षसँग छलफल र सहमति नलिइ गत बिहीबार संसदमा सरकारले नियन्त्रण गर्न सक्ने गरी मिडिया विधेयक पेश गरेपछि विवाद हुँदै आएको छ।


















