आगलागीबाट करिब ५६ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट

184

काठमाडौं- करिब १६ घण्टाको अवधिमा देशका विभिन्न ५ स्थानमा आगलागी हुँदा करिब ५६ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आइतबार ११:०० बजेदेखि सोमबार २:३० बजेसम्मको सो अवधिमा सिन्धुली, कपिलवस्तु, खोटाङ र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको हो ।

आगलागीका घटनामा भएका उक्त क्षतिमध्ये सिन्धुली गोलन्जोर गाउँपालिका-१ कोपेस्थित सामुदायिक बनमा आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने एक बहादुर चौहान र लाल बहादुर चौहानको घरमा समेत आगलागी भई करिब १२ लाख रुपैयाँ बराबरको धनामल जलेर नष्ट भएको छ । यसैगरी कपिलवस्तु विजयनगर गाउँपालिा-५ डालपुर बस्ने बिल बहादुर बोहाराको घरमा आफ्नै नाती ८ वर्षीय आयुष बोहाराले खेल्ने क्रममा आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, गोठ, कुखुराको खाली फर्म समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी खोटाङ केपिलासगढी गाउँपालिका-५ हल्कुम बस्ने सहरमणी राई लगायत २ जनाको घरमा आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी सप्तरी डाकनेश्वरी नगरपालिका-८ बिसहरीया बस्ने महन्थी सरदारको घुरबाट आगलागी भई उक्त आगो फैलिएर महन्थी सरदार लगायत ७ जनाको १३ वटा घर समेत जलेर करिब ३२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सप्तरी छिन्मस्ता गाउँपालिका-३ स्थित सिताराम यादवको काठ चिर्ने मिलमा करेन्ट सर्ट भई आगलागी हुँदा काठ चिर्ने मेशिन, काठ चिरान घर समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा सबै स्थानमा आगो नियन्त्रणमा आएको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here