काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा पाँचथर मिक्लाजुङ गाउँपालिकामा भएको ९ जनाको सामूहिक हत्याकाण्डको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको घटनाको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने गृहमन्त्री थापाले प्रतिबद्धता व्यक्त गरेका हुन्।
हत्याकाण्डको अनुसन्धानमा सक्दो सहयोग गर्न पनि स्थानीयलाई आह्वान गर्दै गृहमन्त्री थापाले सो घटनामा संलग्न ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली घटनास्थल पुगिसकेको छ भने सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले जानकारी दिए ।
प्रहरीले पारिवारिक रिसइवीका कारण माखिमलेनै हत्या गरेको हुन सक्ने आशंका गर्दै छानवीन प्रक्रियालाई अघि बढाएको छ ।


















