आगामी साता आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक हुँदैछ । सरकारले पूराना आयोजनाहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गर्न लागेको छ ।
यसपालीको अधिकांश बजेट पूरानै आयोजनाहरुमा खर्च हुनेछ । अघि बढिसकेका तर पूरा नभएका आयोजनामा प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सरकारको योजना छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आवका लागि १ खर्ब ३७ अर्बको सिलिङ पाएको छ । यसमध्ये ९५ अर्ब रुपैयाँ बजेट सुनिश्चितता (एयरमार्क) गरी प्राथमिकता प्राप्त आयोजनाका लागि छुट्याइएको छ । हुलाकी सडक र मध्यपहाडी लोकमार्गले चालू आर्थिक वर्षमा ५।५ अर्ब रुपैयाँ बजेट पाएकोमा आगामी आर्थिक वर्षमा झण्डै दोब्बर बजेट विनियोजन गर्ने तयारी मन्त्रालयको छ ।
खानेपानी मन्त्रालयको प्रस्तावित बजेटअनुसार आधारभूत खानेपानीमा ९२ प्रतिशत जनसंख्याको पहुँचको लक्ष्यसहित सञ्चालित पुरानै आयोजनामा बजेट विनियोजन हुनेछ । अहिले आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत जनसंख्यामा मात्र पुगेको मन्त्रालयको तथ्यांक छ ।
उर्जा मन्त्रालयले पनि पूरानै आयोजनामा बढी रकम विनियोजन गर्ने तयारी गरेको छ ।
पुनर्निर्माणतर्फ निजी आवासका बाँकी रहेका घरहरु समेत आगामी आवभित्रै सक्ने लक्ष्य सरकारले सार्वजनिक गरेको छ।
यो वर्ष कर्मचारीको तलब र वृद्धभत्ता पनि बढ्ने भएको छ ।