धादिङवेशी–टारिबेशी सडकको कालोपत्रेमा चरम लापरबाही, ठेकेदार कम्पनीमाथि छानबिन हुने

173

धादिङ- धादिङवेशीदेखि टारिबेशीसम्म जोड्ने सडकखण्डमा भैरहेको कालोपत्रेमा चरम लापरबाही भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

झण्डै ७० करोड रुपैयाँमा निर्माण भैरहेको उक्त सडक–खण्डको कालोपत्रेका क्रममा ठेकेदार कम्पनीले ‘आँखामा छारो हाल्ने काम’ गरेको भन्दै स्थानीय निक्कै रुष्ट बनेका छन् ।

सार्वजनिक सुनुवाई नै गरेर ठेकेदार कम्पनीले चरम लापरबाही गरेको भन्दै स्थानीय प्रसासन, जिल्ला प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

अबको १ महिनामा काम सम्पन्न गर्नुपर्ने भएपछि ठेकेदार कम्पनीले जसरी हुन्छ काम सक्याउनका लागि मात्रै काम गरिरहेको र यसो गर्दा गुणस्तरीय काम नभएको एक स्थानीयले जनाए ।

उनले भने,–‘यो सडक–खण्डमा निर्माण कम्पनीले निक्कै ठूलो लापरबाही गरेको छ, यो भन्दा पहिले पनि यसरी नै चरम लापरबाही सहित काम अघि बढायो । अहिले कालोपत्रे गर्ने क्रममा पनि यसरी नै गुणस्तरहीन काम गरिरहेको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

कालोपत्रे गरेको ठाउँमा वर्षाका कारण पानीले खोतलेको सामाजिक संजालमा देखिएका तस्वीरहरुमा पनि स्पष्ट देखिन्छ ।

असार मसान्तसम्ममा सडकको सबै काम सक्याउनुपर्ने निर्माण कम्पनी लामा कन्ष्ट्रक्सनलाई दबाब छ । झण्डै २७ किलोमिटरको धादिङवेशी–टारिबेसी सडक निर्माणका लागि २ वर्षे समय अवधिको लागि भन्दै नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाको स्वामित्व रहेको लामा कन्स्ट्रक्सनले सन् २०१७ मा निर्माणको जिम्मेवारी पाएको थियो ।

एडीबीको सहयोगमा बन्दै गरेको यो सडकको कालोपत्रेको गर्ने क्रममा चरम लापरबाही भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

आलोचना भएसँगै जिल्ला प्रशासन कार्यलय धादिङ, एडीबीको प्रतिनिधि र जनप्रतिनिधि तत्कालै सडकको अनुगमनमा निस्कदै छ ।

प्राविधिकको टोली सहित अनुगमनमा निस्कन लागेका उनीहरुले कालोपत्रे गर्दा प्रयोग भएका कच्चा पदार्थ, निर्माणको गराई लगायत विषयमा बृहत अनुगमन गर्नेछ ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेयले भने,–‘यो विषय व्यापक रुपमा बाहिर आएको छ, हामी केही दिनमा नै प्राविधिक टोली सहित सडकको अनुगमनमा निस्कदै छौँ ।’

अनुगमन चाँडै गर्नुपर्यो भनेर सांसद ज्यूहरुले पनि भन्नुभएको छ । एडीबी प्रतिनिधि पनि अनुगमन टोलीमा सहभागि हुनुहुनेछ । अनुगमनले नै जनाउँछ की, सडक कसरी बनेको छ र कमसल खालको सामग्री प्रयोग भएको छ या छैन भनेर ।’

उनले भने,  अनुगमनका क्रममा गुणस्तरहीन काम गरेको पाईए एडीबीले बजेट रोक्का गर्छ । जहाँ कालोपत्रे उप्किएको छ, ठेकेदार कम्पनीले ति ठाउँहरुमा फेरी दोहोर्याएर काम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here