काठमाडौं / ग्लोबल आइएमई बैंकले र विश्व बैंकअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) मार्फत २ अर्ब २० करोड रुपैयाँ ऋण ल्याउने भएको छ। मुलुकमा लगानीयोग्य रकमको अभाव भइरहेका बेला बैंकले सो ऋण रकम ल्याउनेगरी आइएफसीसँग सम्झौता गरेको छ। बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र आइएफसी आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले एक समारोहकाबीच सम्झौता आदानप्रदान गरे।
सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात बैंकले दुई करोड अमेरिकी डलर अर्थात दुई अर्ब बीस करोड रुपैयाँ बढी ऋण ल्याउनेछ। यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पुँजीको अभावलाई केही हदसम्म कम गर्न सघाउने कामु प्रमुख कार्यकारी ढकालले जनाए ।
आइएफसीबाट ल्याइने ऋmणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा लगानी गर्ने बैकको योजना छ। यसअघि एनएमबि बैंकले विभिन्न चरणमा गरी झण्डै साढे ३ अर्ब रुपैयाँ ऋण ल्याइसकेको छ। बैंकहरुले ऋण ल्याउनका लागि हेजिङको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। राष्ट्र बैंकले ठूला पूर्वाधारमा आउने ऋणका लागि हेजिङको व्यवस्था गर्ने भए पनि बैंकहरुमार्फत हुने अन्य क्षेत्रको लगानीमा भने हेजिङ नहुँदा बिनिमयदर परिवर्तनको जोखिम रहेको बैंकरको गुनासो छ।

















