पुलिसको हातको बन्दुकको निशाना किन सधै गलत ठाउँमा पर्छ ?

236

हालै सर्लाहीमा अमित राय नामका बाह्रबर्षे किशोर पानीमा डुबेर मरे । नदी किनारमा तीस÷तीस फिट गहिरो खाडल बनाएर कुनै वालुवा उद्यमीले गरेको अवैध उत्खनन्को परिणाम रहेछ त्यो दूर्घटना । अवश्य बालुवावाला राजनीतिक पहुँचवाला हुँदो हो । त्यसैले उसको विपक्षमा नेपालको कानुन पनि निष्प्रभावी रहँदै आएको हुँदो हो । अवैध उत्खनन् रोकिनुपर्छ भन्ने जनताको माग जायज थियो । मृतकका परिवारले क्षतिपूर्ति पाउनुपर्छ भन्ने आवाज पनि न्यायसंगत थियो । जनताको त्यही चेष्टाविरुद्ध पुलिसको गोली दागियो । अर्को सत्ताइस् बर्षे जवान केशव महतोको ज्यान लियो । जनताले न्याय खोजेका थिए । वेथिति रोक्नुपर्ने माग गरेका थिए । मानिस बढी भयो भनेका थिएनन् । पुलिसले के बुझ्यो र गोली चलायो ? मानिसको शिकार ग¥यो ?! शान्तिपूर्ण विरोध प्रदर्शन गर्न जम्मा भएका जनसाधारण ज्यान अर्घेलो भयो भनेर भएर सडकमा उत्रेका थिएनन् । हामीलाई “गोली देउ” भन्ने उनीहरूको माग थिएन । मृत्युको मागगर्न सडकमा उत्रिएका थिएनन् । जनताको माग पुलिसँग सरोकार राख्ने विषय पनि थिएन । आफैले चुनेको सरकारसँग गुहार पुकार गरेका हुन् । भीड नियन्त्रण गर्न गाह्रो भयो भने पनि गोली हान्ने परिस्थितिपूर्व अपनाउनुपर्ने तरिकाहरू अवश्य हुन्छन् होला । देख्नासाथ गोली त जङ्गली जनावरलाई पनि हान्न मिल्दैन । प्रदर्शनकारीहरू त एक्काइसौं शताब्दीका सभ्य नागरिकहरू थिए । नेपालको पुलिस यो मामलामा वदनाम छ । छिन्ताङ्ग, सुखानी, २०४६ चैत्र २४ गतेको दरबारमार्ग, ६२ चैत्रको गोंगबु–कलङ्की लगायत पछिल्लो मधेस आन्दोलनमा चलेको पुलिसको गोलीको औचित्य कतैबाट पुष्टि हुदैनथ्यो । तर त्यो अपराध कहिल्यै दण्डनीय बनेन । पुलिसको विवेकहीनता बरु सधै पुरस्कृत हुँदै आयो । नेपाली परम्पराको सन्दर्भमा “पुलपुलिएको साँढे” भनेजस्तो नेपालको पुलिसको डण्डा बनेको छ भन्नु बढता नहोला !

शक्ति आर्जन गर्न सजिलो छैन । आर्जन भैसकेपछि त्यसलाई थाम्नु पनि उत्तिकै गाह्रो हृुन्छ भनिन्छ । हिन्दू मिथकहरूमा पूजा, आराधना, साधना र तपस्याबाट अकल्पनीय शक्ति प्राप्त गरेका दानवहरूबाट अर्जित शक्तिको दूरूपयोग भएका अनेकौं कथाहरू लेखिएका छन् । ती कथाहरू शक्ति दुरूपयोग गलत होे भन्ने नैतिक शिक्षा समाजलाई दिनका लागि रचिएका भने होइनन् । ती सबै भगवनाको महिमामण्डनका लागि सिर्जना गरिएका हुन्छन् । खुसी हुँदा सबै कुरा प्रदान गर्ने र रिस उठ्दा हरण गर्ने मात्र होइन विनास गर्न पनि भगवानहरूले सक्छन् भन्ने कुरा स्थापित गर्नका लागि त्यस्ता कथाहरूको रचना भएको देखिन्छ । त्यस्तै रोचक कथाहरूमध्येको एउटा कुरूप नमुना “भष्मासुरको कथा” पनि हो । महादेवबाट प्राप्त गरेको आफ्नो शक्ति परीक्षण गर्न आफ्नै टाउकोमा हात राखेर विचरो आफै भष्म खरानी हुन्छ । शक्तिको दरुुपयोगले आफ्नै काल निम्तन्छ भन्ने कुराको सबभन्दा कुरूप उदाहरण नेपालको राजसंस्था पनि बनेको छ । ज्ञानेन्द्र शाहको शक्तिलिप्साले दुई शताब्दी पुरानो अविछिन्न वंशानुगत राजतन्त्र इतिहासको पानामा सिमित भयो । ज्ञानेन्द्र शाह भष्मासुरका कलियुगी उदाहरण बने ।

शक्तिको उपयोगमा विवेक पुगेन भने स्वयम आफैलाई नोक्सान गर्छ भने त्यसको दूपयोगले अरुलाई झन् कति हानिनोक्सानी पु¥याउँदो होला भनेर सजिलै अनुमान गर्न सकिन्छ । सुगौली सन्धीले मेची महाकालीबीच खुम्च्याइदिएको भूमिमा सिमित रहेको वर्तमान नेपालको एकीकरणको शिलान्यास पृथ्वीनारायण शाहले गरेका हुन् । यतिखेर हामीले “हाम्रो देश नेपाल, हामी नेपाली” भनेर गौरव गर्छाैै । त्यो अवसर उनैको कृपा हो भन्न कञ्जुस्याइ गर्नु पर्दैन । तर अर्को कोणबाट हेर्दा पृथ्वीनारायण शाहको शक्तिको दुरूपयोगको परिणामस्वरूप सन्ताउन्नवटा राज्य मासिएका थिए भन्ने कुरा कटु यथार्थ हो । सन्तावन्न राज्यका सन्तावन्नवटै राजघरानाहरूको उठिबास लाग्यो । कैयौ सभ्यता संस्कृति ओझेलमा परे । कैयौं भाषा सँस्कृतिको निर्मम हत्या भयो । ती मासिए, नासिए । यो पनि त उत्तिकै सत्य कथा हो ।

फर्कौ फेरि नेपालको पुलिसतिरै । राज्यले पुलिस पाल्नुको उद्देश्य देशमा शान्तिसुरक्षा कायम गर्नलाई हो । तर यसको पहिलो उद्देश्य राज्य र राज्य सञ्चालकहरूको स्वार्थ रक्षा गर्नु हो । जनताको सेवा सुरक्षा पुलिसको दोश्रो कोटीको दायित्व हो । “संघे शक्ति कलौ युगे” भनिन्छ । पुलिस एउटा संगठित संगठन हो । त्यसैले यो संगठनसँग तागत हुन्छ । त्यसको त्यो तागतसँग स्वयम् त्यसका सञ्चालकहरू पनि डराउनुपर्छ । त्यसैले त कहीँकतै पुलिसको हातबाट गोली चल्यो, मान्छे म¥यो र गोली चल्नुको औचित्य पुष्टि हुदैन भने पनि पुलिसले आत्मरक्षाका लागि गोली चलाउँदा मान्छे मरेको हो भनेर भन्न गृहमन्त्रीहरू वाध्य हुन्छन् । २०४६ सालपछिको पहिलो जननिर्वाचित सरकारका गृह मन्त्री देउवाले पनि अनिश शाक्य हत्याकाण्डमा “गोलीको आँखा हुदैन” भनेथे ! पछिल्ला गृहमन्त्री बादलले पनि दुरुस्त त्यही भाका कुमार पौडेलकाण्डमा दोहोराए । त्यो भाका गृहमन्त्रीहरूको साझा वाध्यताको अभिव्यक्ति हो । किनकि पुलिसको विवेकहीन कार्य गलत हो भनेर उसलाई कार्यवाही गर्ने तागत गृहमन्त्रीहरूसँग हुदैन । त्यसो गर्दा पुलिसको शिकार आफै हुनुपर्ने डर रहन्छ । इन्दिरा गांधीको हत्या आफ्नै अंगरक्षकको हातबाट भएको थियो । निचोडमा के भन्न सकिन्छ भने – शक्तिको दुरूपयोग जसबाट जहिलेपनि हुनसक्ने खतरा रहन्छ । त्यही तथ्यबोधले गृहमन्त्रीहरूलाई निरीह प्रवक्ता बनाइदिन्छ । उपहासको पात्र बनाइदिन्छ ।

धर्तीको स्वर्ग भनेर मानिने संयुक्त राज्य अमेरिकामा केही बर्ष अगाडि ट्राफिक पुलिस अफसरको हातबाट एकजना काला युवक मारिए । अनुसन्धानमा उनी मारिनुपर्ने कारण उनको रङ्गबाहेक अरु केही देखिएन । तैपनि उनी मारिए । मार्ने पुलिस त्यो पनि गोराजातिको भएकोले दण्डित हुनु परेन । अदालतले समेत पृुलिसको अपराधलाई दण्डनीय ठह¥याएन । आफूबाट थोरै चुक हुन गएका भए पुलिसको हातबाट ज्यान जानसक्ने उउटा उदाहरण आफ्नै पनि छ :

माओवादी आन्दोलन उत्कर्षमा पुगेको र ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएको समयको कुरा थियो । म्याग्दीको प्रशासनले सदरमुुकामस्थित घरबाटै गिरफतार ग¥यो । निहुँ थियो –आतङ्ककारीलाई सहयोग पु¥याएको ! गिरफ्तार गरियो, ५÷७ दिन पुलिस कस्टडीमा राखियो । गिरफ्तार गर्नुपर्ने कारण के थियो भन्ने कुराको जानकारी गराइएन । पाँचसात दिनपछि एकदिन साँझतिर शान्तिसुरक्षा ऐनको कुनचाहीँ हो दफा लगाएर ९० दिनको थुनुवा पुर्जी थमाइयो र कारागार चलान गरियो । सिमसिम पानी परिरहेको थियो । सायद त्यो भदौ महिना थियो क्यारे । भसभसेको पहिरो, कमेरे माटो, चप्पल चिप्लिएर हिड्नै गाह्रो । पहिरो कटेपछिको चौतारीबाट ओरालो लागेपछि पाइला सार्नै कठिन भयो । त्यतिबेलै हामीभन्दा निकै अघि कारागारतिर गएको एकजना पुलिस ठिटो फर्केर मेरो निकट आयो, पिठयुँमा हात राखेर ‘अघि दगुर बुढा !’ भनेर बलैसित घच्याट्यो ।

उक्त पुलिस ठिटाको थर ‘ऐर’ थियो सायद ! किनकि रेग्मी थरको एकजना इन्सपेक्टरले ठानाभित्रै त्यही नामले उसलाई सम्बोधन गरेको थियो । एउटा असइको कमाण्डमा चारजना पुलिस पहिल्यै अघिपछि थिए । तोकिएको टोलीभन्दा अतिरिक्त पुलिसलाई त्यही नामले इन्स्पेक्टर बोलायो, कानमा एकछिन साउती ग¥यो । ऐर कुदेर ठानाभित्र छि¥यो । राइफल बोकेर मेरो गारतमा सामेल भयो । म्याग्दी पुल तरेपछि हतारिएर अघि दगु¥यो । वेनीतिरबाट देखिने बाटो समाप्त भएपछि फर्केर आयो र अघि दगुर्न आदेश ग¥यो ! उसको नयिुक्ति र गतिविधि शंकास्पद थियो. । त्यसैले उसले भनेजस्तो गर्ने त कुरै भएन, अघि हिड्नु पनि मनाशिव लागेन । उसको आदेश मानेका भए उसले गोली चलाउन पनि सक्थ्यो । भाग्न खोजेकोले हानेको भन्न मिल्थ्यो । एउटा थप आतङ्ककारी मारिन्थ्यो । पछि अदालतको आदेशमा रिहा भएर म्याग्दी समेत छोडेपछि त्यतिखेर म्याग्दीमा कार्यरत नेपाली थरका कर्णेलले ‘ज्यान नलिएर गल्ती गरियो’ भनेर सार्वंजनिक रूपमा भन्दै हिँडेबाट ऐर विशेष उद्देश्यले मेरापछि नियुक्त गरिएको हो कि भन्ने मेरो शंकालाई पुष्टि गरिदिएथ्यो ।

मान्छेको ज्यान अनाहकमा लिएवापत जवाफदेही हुनु नपरेपछि हातमा हतियार हुनेहरूको मति बिग्रन के बेर लाग्छ र ? नेपालको पुलिसको इतिहास उति उज्यालो छैन । माओवादी विरुद्धमा पुलिसको असफलताको मुख्य कारण जनताको सहयोग नपाउनु थियो । पुलिसप्रतिको आम जनतामा विकसित भएको नकारात्मक मनोविज्ञान आज पनि उस्तै छ । पुलिसको चरीत्रमा पनि खास परिवर्तन आएको देखिदैन । त्यसैले पुलिसको हातको बन्दकु कुठाउँमा परेको साधनजस्तो बनेको छ । हतियार शक्तिको प्रतीक हो । शक्ति हातमा हुेनहरूमा विवेक रहेन, इमान रहेन, समवेदनशीलता रहेन भने दुरूपयोग हृुने सम्भावना प्रबल रहन्छ । नेपाली पुलिसका हातमा रहेको हतियार उनीहरूका लागि गरुङ्गो भएजस्तो लाग्छ । पुलिसको हातबाट हतियार खोस्न मिल्छ कि मिल्दैन ? अन्यत्र के कस्तो व्यवस्था छ भन्नुभन्दा हामीकहाँ के गर्दा ठिक होला भन्ने कोणबाट सोच्न मिल्दैन र ?! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here