टाँक भित्र रिङ आकारका सुन राखेर ल्याएको भेटिएपछि ….

661

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सार कार्यालयले निगरानी बढाएपछि सुन तस्करले नयाँ उपाय खोज्न थालेका छन्। आइतबार प्रहरी र भन्सार कार्यालयको छुट्टाछुट्टै दुई अपरेसनपछि नयाँ तथ्य बाहिर आएको हो।

महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले कतारबाट हिमालयन एयरलाईन्स चढेर आएका मोरङका लीलाबहादुर बस्नेतलाई पक्राउ गरेको छ। उनले सुन ल्याएको सूचना प्रहरीलाई आएपनि कसरी ल्याउँदै थिए भन्ने जानकारी थिएन। विमानस्थलबाट उनी बाहिरिए लगत्तै प्रहरीले पक्राउ गर्‍यो।

बस्नेतले ल्याएको पार्सल खोतल्दा प्रहरी चकित पर्यो। बस्नेतले ल्याएको पार्सल भित्र स्याम्पु र बच्चाले प्रयोग गर्ने डाइपर थिए। सुराकीले गलत सूचना दिएको सोझै आंकलन प्रहरीको थियो। तर, प्रहरीले उनलाई छोडेन। पटकपटक पार्सल पल्टाउँदै डाइपर खोतलेर हेर्दा केही नयाँ कुरा देखियो। टाँक भित्र रिङ आकारका सुन राखेर ल्याएको भेटिएपछि प्रहरी चकित परेको थियो।

२२ वटा डाइपर भित्र लुकाएर ल्याइएको एक सय ७५ वटा टाँक भित्र रिङ आकारका सुन जोख्दा चार सय ग्राम रहेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरी बयानमा बस्नेतले कतारमै कोही एक जनाले सामान काठमाडौं लगिदिन आग्रह गरेपछि आफूले बोकेर मात्रै ल्याएको खुलाएका छन्।

तीन वर्ष कतारमा बसेर फर्किएका बस्नेत बाबुको किरिया गर्न नेपाल आएका थिए। बोगटीले भने, ‘बस्नेतले बयानमा जे भनेपनि हामीले सबै पाटाबाट अनुसन्धान गर्छौं, नेपालमा सुन रिसिभ गर्ने व्यक्तिको खोजी गरिरहेका छौं।’

बस्नेतलाई काठमाडौंकै टोली आएर पक्राउ गर्दा विमानस्थलका प्रहरी र भन्सारको टोलीमाथि थप दबाब बढेको थियो। खोजीकै क्रममा नवलपरासीका वीरबहादुर थारु पक्राउ परे। थारुले पनि बस्नेतकै शैलीमा सुन ल्याएका थिए। थारुको साथबाट भन्सारले एक सय ९० ग्राम सुन बरामद गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here