जनकपुरधाम / जनकपुरधाम उपमहानगरपालिका–८ स्थित तुलसी स्मारकका पुजारी शिवशंकर दासले साना बालिकामाथि यौन दुर्व्यवहार गर्दै आएको घटना सार्वजनिक भएको छ। मन्दिरमा पुजापाठ गर्ने नाममा दासले बालबालिकालाई निःशुल्क ट्युशनसमेत पढाउने गरेका थिए।
ट्युशन पढ्न जाने साना बालिकामाथि उनले दुष्कर्म गरेको आरोप पीडित पक्षले लगाएका छन्। रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष तथा रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवल भारत घर भएका शिवशंकरलाई ५ वर्ष अघि तुलसी स्मारकमा पुजाआजा गर्ने जिम्मेवारी दिएका थिए। साधुको भेष धारण गरेका शिवशंकरले पछिल्लो दुई वर्षदेखि बालबालिकालाई पढाउने नाममा यौन दुर्व्यवहार गर्ने गरेको पीडित बालिकाका अभिभावकले जनाएका छन्।
‘मेरी ८ वर्षीया छोरीले बाबासँग पढ्न नजाने भनेर जिद्दी गरेपछि कारण बुझ्दा बाबाको कुकर्मका बारे थाहा पायौ,’ पीडित बालिकाका अभिभावकले भने, ‘बाबाको कर्तुतका बारेमा आवाज उठाएका थियौं तर, रामानन्दीय बैष्णव संघका तत्कालीन अध्यक्ष बैकुण्ठले उनको बचाउ गरे।’ बैकुण्ठकै डरका कारण कसैले पनि ती बाबाको खुलेर विरोध गर्न नसकेको अभिभावकले गुनासो गरे।
हत्याकाण्डमा बैकुण्ठलाई १२ वर्षको जेल सजाय सुनाइएपछि उनका सहयोगी दुष्कर्मी बाबाको विरोधमा सर्वसाधारणले बोल्न सकेका हुन्। बैकुण्ठ हाल फरार छन्। दासले पढाउने बहानामा अन्य दुईजना बालिकासँग पनि दुष्कर्मको प्रयास गरेको अभिभावकको दाबी छ।
शनिबार जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षमा विभिन्न संघसंस्था र साधुसन्तसहितको बैठकले साधुको भेषमा दुष्कर्म गर्ने दासलाई कारवाहीका लागि प्रहरी प्रशासनमा जाने निर्णय गरेको र आज जिल्ला प्रहरी कार्यालय धनुषामा पुगेर स्थानीय प्रहरीको ध्यानाकर्षण गराएका छन्।
आइतबार धनुषाका प्रहरी उपरीक्षक शेखर खनाललाई साधुसन्त र संघसंस्थाका प्रतिनिधिले ज्ञापन पत्र बुझाएका हुन्। धनुषा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालका अनुसार पीडितको तर्फबाट आजै जाहेरी ९उजुरी० आइसकेको बताए। खनालले ‘द नेपालटपसँग भने, ‘जाहेरी आउनासाथ हामीले प्रहरी परिचालन गरी सकेका छौ।’ उनको अहिले ब्यापक खोजी भइरहेको खनालले बताए। दुष्कर्मको आरोप लागेको शिवशंकर दास अहिले फरार भएका छन्।

















