विपतिमा संसद स्थगित् गरेको भन्दै नेकपाकै सांसदद्वारा सभामुखको आलोचना

72

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।
संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।
खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे । उनले भने,‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । सवारी आवातजावत अवरुद्ध छन् । जनताको आवासमा ठूलो क्षति पुगेको छ । तर, यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित् गरियो । हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’
भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले भने,‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो घोर आपत्ति छ । यो खेदजन्य कुरा हो । रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदीय समिति विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् ।
उनले रौतहट पूरै डुवानमा परेको सुनाईन् । ‘यस्तो अवस्थामा देश राजनीतिक एजेण्डामा अल्झिनुहुँदैन थियो’–खड्काले भनिन्‘अहिले त उद्धार तथा राहतमा जुट्नुपर्ने बेला हो । तर, हामीले संसदमा आफ्नो कुरा राख्न पाएनौं ।’
ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित् गरिएकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘मुलुक अहिले बाढि, पहिरो र डुवानबाट प्रताडित छ । सयौं घरहरु भत्किएका छन् । बाटाघाटाहरु अवरुद्ध छन् । यस्तो बेलामा संसद सुचारु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो । तर, संसद बैठक स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ।’
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यताका कारण आजको संसद बैठक स्थगित भएको आरोप लगाए । उनले भने,‘यसले के देखाउँछ भने कांग्रेस मुलुक र जनताप्रति जिम्मेवार छैन ।
ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘बैठक सुरु नै नभईकन अचानक स्थगित गरियो । राष्ट्रिय विपतिको बेलामा संसद बैठक बसेर आफ्ना कुरा राखौंला भन्ने चाहना पुरा नभएकोमा उनले कडा आक्रोश पोखे । उनले भने,‘संसदको नियमित बैठक बस्ला र आफ्ना कुरा राखौंला भनेको त बैठक स्थगित गरियो । यसमा हाम्रो गम्भिर आपत्ति छ । कांग्रेसले जुन रवैया देखायो, यो गलत छ ।’
उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित् हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे । उनले भने,‘अहिलेपनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।’ यस्तो बेलामा संसद बैठक बसेर अझै सरकारको भूमिका प्रभावकारी बनाउनको लागि छलफल तथा बहस हुनुपर्ने थियो भन्ने उनको भनाई छ ।
सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए । उनले भने,‘आज संसद चल्छ र आफ्नो कुरा राखौंला भनेको त एक्कासी सदन स्थगित् भयो । यो दुःखद् कुरा हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here