डडेल्धुरा / बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई स्थानीयले फूलमाला, बाजागाजासहित बजार परिक्रमा गराइ भब्य रुपमा बिदाइ गरेका छन्।
गाउँमा चलेको डोजर आतंकको नियमनको लागि अग्रसरता लिएका उनको चारैतिर चर्चा भएपछि त्यहाँका जनप्रतिनिधि उनी देखेर रुष्ट भएका थिए । सुनारप्रति रुष्ट भएका जनप्रतिनिधिहरु उनको सरुवाको माग गर्दै डेलेकेशनसहित गृहमन्त्रालय धाउन थालेका थिए ।
जिल्ला प्रशासन कार्यालय बझाङबाट मोरङ जिल्लामा सरुवा भएर गएका प्रमुख जिल्ला अधिकारी सुनारलाई यहाँका सर्वसाधारण स्थानीय महिला, पुरुषले बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराउँदै बिदाइ गरेका हुन्।
बझाङ जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलाई बाजागाजासहित फूलमालाले बिदाइ गरेको यो पहिलो पटक हो। फागुन महिनामा बझाङ पुगेका सुनारेले नेताको चाकडीभन्दा पनि नागरिकको सेवामा तल्लीन भएर लागेका कारण र इमान्दार भएर काम गरेको आफूहरूले पाएका कारण सुनारलाई फूलमालासहित बिदाइ गरेको स्थानीयको भनाइ छ।
अहिलेसम्म बझाङ जिल्लाको साइपाल गाउँपालिकामा कोही प्रमुख जिल्ला अधिकारीहरू पुग्नु भएको छैन। उनी साइपाल गाउँपालिकामा पुगेर यहाँका बुढापाकाहरूलाई समेत नागरिकता वितरण गरेका थिए।
बझाङजस्तो विगत जिल्लामा उनले केही न केही नयाँ काम गर्दै आएका थिए। फागुन महिनामा बझाङ पुगेका प्रमख जिल्ला अधिकारी सुनार देशभरकै ‘कान्छा सिडिओ’ समेत हुन्। सिडिओको सरुवाको कारण थियो ‘सडक’ प्रमुख जिल्ला अधिकारी सुनारको सरुवाको कारण सडक बनेको छ।
२०७५ फागुन १७ गते बझाङको प्रमुख जिल्ला अधिकारी भएर आएका सुनारले २०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए। निर्माण गर्नु पूर्व सम्भाव्यता अध्ययन, डिजाइन स्टिमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययन नगरिकन हचुवाको भरमा काम थालिएका सडकमा लगाइएका सबै डोजरहरू तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले बझाङका सबै स्थानीय तहलाई पत्राचार गरेको थियो।
बिना कुनै सर्वे डिजाइन जथाभावी डोजर संचालन गरी बनाइका सडकका कारण जिल्लाका थुप्रै गाउँ जोखिममा परेको, धेरै मानिसको जीउधनको जोखिम बढेको र महिनै पिच्छे सडक दुर्घटना हुन थालेपछि जिल्ला प्रशाशन कार्यालयले डोजर नियन्त्रणको प्रयास थालेको सुनारले जनाए । अव्यवस्थित सडकका कारणले हजारौं हेक्टर वन र कृषियोग्य भूमिमा क्षति पुगेको, धेरै गाउँ र बस्ती नै जोखिममा परेको, विपत् जोखिम बढाएको तथा सडक दुर्घटनामा परी नागरिकले अकालमा ज्यान गुमाइरहेकाले हचुवामा सडक निर्माण नगर्न गरिएको पत्राचारलाई बेवास्ता गरि चलाइका डोजर नियन्त्रणमा लिन थाले पछि यहाँका जनप्रतिनिधि झस्किएका थिए।
नेपाल सरकारले २०७५ फागुन १ गतेबाट लागू हुने गरी एक करोड भन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशन समेत अवज्ञा गरिएको गुनासो आएकोले नियम र मापदण्डको वेवास्ता गर्दै जथाभावी डोजर चलाइएको पाइएमा सार्वजनिक हित विपरितको कसुर अन्तर्गत कारवाही गर्ने भनेर सिडियोले पत्राचार नै गरेपछि सिडिओको सरुवा माग गर्दै मन्त्रालय धाउने जनप्रतिनिधिले भने सुनारले आफूहरूसँग समन्वय नै नगरी काम गर्ने गरेकोले समस्या भएको, नागरिकता दिनमा समेत अप्ठ्यारो पार्ने भन्ने जस्ता आरोप सुनारलाई लगाएका थिए।
प्रमुख जिल्ला अधिकारी सुनारले जनताको साथ सहयोग पाउँदा-पाउँदै आफूले सरकारले खटाएको ठाउँमा जानु परेको जनाए । ‘यहाँहरूको साथ सहयोग पाउँदा-पाउँदै नेपाल सरकारको निर्णय बामोजिम मैले यहाँबाट जानु नै पर्छ। सरकारीको कर्मचारी भएको हुनाले मैले खटाएको ठाउँमा जानुपर्छ’ बिदाइ कार्यक्रममा उनले भने,‘फेरि मलाई सरकारले बझाङ पठाउला। त्यो निर्णय पनि मैले मान्नुपर्छ। म धेरै टाढा भएको होइन। फेरि पनि भेट्न सकिन्छ।’

















