प्रदेश २ को सपथ ग्रहण कार्यक्रममा झडप , सुरक्षाकर्मी परिचालन ! नेताहरु सुरक्षा घेरामा !

249

जनकपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा झडप भएको छ । प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो ।

मंगलबार बर्दिबासमा आयोजना गरेको प्रदेश २ भित्रकै ८ वटै जिल्लाका पदाधिकारीको सपथ ग्रहण समारोहमा असन्तुष्ट पक्षले अवरोध गरेपछि झडप भएको हो ।

नेकपाका शीर्ष नेताहरुले सक्रियहरुलाई भन्दा आसेपासेलाई बढी प्राथमिकतामा राखेर जिल्ला पदाधिकारीमा छनोट गरेको र जिल्ला जिल्लामा हुनुपर्ने सपथ ग्रहणलाई एकै ठाउँमा गराउन लागेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले स्थगित गराउन चेतावनी दिँदै आएका थियो । तर असन्तुष्टहरुका चेतावनीका बीच सपथ ग्रहण समारोहलाई यथावत राखेपछि अवरोध गर्ने र सपथ ग्रहण गर्ने पक्षबीच झडप भएको हो ।

त्यस क्रममा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास समेत भएको नेकपाका कार्यकर्ता राधे महतोले जानकारी दिनुभयो । झडपमा केही नेता कार्यकर्ता समान्य घाइते भएको जनाइएको छ ।

प्रहरीले लाठीचार्ज गर्दै स्थितिलाई नियन्त्रणमा लिएका छन् । अहिले व्यापक मात्रामा त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपाका असन्तुष्ट नेता कार्यकर्ताले भने कार्यक्रम स्थगित गर्न भन्दै घेराबन्दी यथावत राखेका छन् ।

पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो । असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका छन् ।

असन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको छ । झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ । उनी प्रदेश कमिटि सदस्य हुन् । यस्तै सप्तरीकै युवा नेता मधुसुदन यादवको खुट्टामा चोट लागेको छ । नेकपाका प्रदेशस्तरीय नेताहरु अहिले सुरक्षा घेरामा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here