काठमाडौं / विश्वकै उच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) आरोहण गर्ने विदेशी तथा नेपाली नागरिकको संख्या बर्सेनि बढिरहेको छ। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता सन् २०१८ को डिसेम्बरसम्म कुल नेपाली तथा विदेशी गरी ५ हजार ८ सय ६४ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्।
यसका साथै सन् २०१० देखि सन् २०१८ को डिसेम्बरसम्म ३ हजार ४८ नेपाली तथा विदेशी नागरिकले सगरमाथाको आरोहण गरिसकेको पर्यटन विभागको तथ्यांकमा उल्लेख रहेृको छ । विभागले जनाए अनुसार सन् २०१८ मा मात्रै २ सय ६२ जना आरोहीले सगरमाथा आरोहण गरेका थिए भने सोही आरोहीका सहयोगी २ सय ९८ जनाले सगरमाथा आरोहण गरेका छन्। तर, सन् २०१५ अप्रिलमा आएको भूकम्पका कारण सो वर्ष सगरमाथा आरोहण गर्नेको संख्या भने शून्य रहेको छ। यसैगरी सन् २०१४ मा जम्मा ६ जनाले मात्रै सगरमाथा आरोहण गरेका थिए।
सन् २०१४ मा भने हिमाली क्षेत्रमा आएको आँधीका कारण सगरमाथा आरोहण गर्नेको संख्यामा कमी आएको थियो। त्यसपछि भने निरन्तर रुपमा सगरमाथा आरोहण गर्नेको संख्या बढिरहेको छ।
सगरमाथापछि मनास्लु
नेपालमा ८ हजार मिटरमाथिका हिमाल मात्रै ९ वटा रहेका छन्। जसमा विश्वकै उच्च शिखर सगरमाथा पनि नेपालमै रहेको छ। ८ हजार ५ सय ८६ मिटरको कन्चनजंगा हिमाल आरोहण गर्नेको संख्या पनि ३ सय ९० पुगेको छ। साथै ८ हजार ५ सय १६ मिटरको ल्होत्से हिमाल आरोहण गर्नेको संख्या ७ सय १९, यालुङ काङ हिमाल आरोहण गर्नेको संख्या ५३ र मकालु आरोहण गर्नेको संख्या ५ सय १९ रहेको विभागले सार्वजनिक गरेको माउन्टनेरिङ नेपाल नामक पुस्तकमा उल्लेख छ।
यसैगरी चो–यो हिमाल आरोहण गर्नेको संख्या १४, धवालागिरी हिमाल आरोहण गर्नेको संख्या ५ सय ३७, मनास्लु आरोहण गर्नेको संख्या १ हजार ८ सय ९७ र अन्नपूर्ण हिमाल अरोहण गर्नेको संख्या २ सय ७८ रहेको छ।
८ हजार मिटरभन्दा तलका २२ वटा हिमाल चढ्नेको संख्या भने ५ सय ८३ रहेको छ।





















