काठमाडौं : नेपालका चर्चित व्यापारिक घराना चौधरी ग्रुपका सफल व्यवसायी एवम् साहित्यिक क्षेत्रमा समेत स्थापित व्यक्तित्व कवि वसन्त चौधरीको विश्व काव्ययात्राको दोस्रो चरण अमेरिका पुगेको छ। गत आइतबार अमेरिकाको भर्जिनियामा उनले एकल कविता वाचन गरेका थिए।
एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने नेपाली समुदायलाई जागरूप गराउन क्यानडाबाट सुरू भएको उनको यस पटकको विश्व काव्ययात्राको दोस्रो चरणअन्तर्गत आइतबार दुई दर्जन कविताहरू वाचन गरेका थिए। ईश्वरको वन्दनाबाट सुरु भएको कविता वाचनका क्रममा उनले प्रेमलाई त्यति सजिलै व्यक्त गर्न सम्भव छैन भन्दै उनले के बिहानीको मिर्मिरेमा उदाउने सूर्यको स्वर्णिम किरणलाई शब्दमा व्यक्त गर्न सकिन्छ ? भनेर प्रश्न गरे । के न्यानो घामलाई वा कालो सेतो बादललाई सजिलै वर्णन गर्न सम्भव छ ? उनको अर्को प्रश्न थियो ।
जसरी वर्षातको थोपाहरुलाई, फूलको सुगन्धलाई, इन्द्रधनुषी रङलाई, चराको चिरबिरलाई, बालकको अबोध मुस्कानलाई शब्दमा व्यक्त गर्न सकिन्न, त्यसैगरी प्रेमलाई सीमित शब्दमा व्याख्या गर्न नसकिने चौधरीको भनाइ थियो। कार्यक्रमको आयोजना भर्जिनियास्थित अन्तर्राष्ट्रिय कलाकार मञ्चले गरेको थियो। यो कार्यक्रमको २० औं शृंखला हो। उनले प्रवासमा बस्नेहरूका लागि लेखिएको ‘म सन्देश लिएर आएको छु’ र ‘आमा’ कविता वाचन गर्नुअघि आमाको महिमा सुनाएका थिए।
‘आमा शब्द उच्चारण गर्ना साथ एक किसिमको स्नेह र ममत्वको भाव नसा नसामा सञ्चारित हुन्छन, प्रेम र वात्सल्य छताछुल्ल भएर हृदयमा तरङ्गित हुन थाल्छन,त्यसैले आमा ब्रह्माण्डकै सर्वप्रिय, सर्वपूज्य अनि हृदय र ढुकढुकी भन्दा पनि निकटको नाता भएको चौधरीले व्याख्या गरे । कार्यक्रममा उनको ‘वसन्त’ र ‘चाहतों के साये में’ नामक कृति सार्वजनिक गरिएको थियो। सन् २०१२ मा अमेरिकाको न्युयोर्कबाट सुरू भएको विश्व काव्ययात्रा यसअघि बेलायत, भारत, जापान, क्यानाडा र अस्ट्रेलियालगायत देशहरुमा पुगेर यसपटक अमेरीकामा सम्पन्न भएको छ।























