-श्याम क्षेत्री
प्राचीन कपिलवस्तु राज्यको राजधानीको रुपमा परिचित कपिलवस्तु जिल्ला ऐतिहासिक तथा पुरातात्विक महत्वको खानी हो। क्रकछन्द बुद्ध, कनकमुनी बुद्ध र शाक्यमुनी बुद्धको पवित्र स्थल कपिलवस्तुको उत्खनन्, संरक्षण र विकासबाट समग्र प्रदेश नं. ५ को विकासलाई सघाउ पुग्छ ।
गौतम बुद्धले २९ वर्ष विताएको गृहनगर तथा उनका पिता राजा शुद्धोधनको प्रमुख प्रशाकीय राजदरवार क्षेत्र तिलौराकोट, बुद्धले ज्ञान प्राप्त गरेपछि प्रथम पटक आफ्ना माता पिता र परिवारलाई भेट गरेको स्थान कुदान, क्रकछन्द बुद्धको जन्म स्थल गोटिहवा, कनकमुनी बुद्धको जन्म स्थल निग्लिहवा लगायत एक सय बढी बौद्धकालीन पुरातात्विक स्थलहरु कपिलवस्तुमा रहेका छन् । यसरी हेर्दा कपिलवस्तु जिल्ला खुला संग्रहालय नै हो ।
कपिलवस्तुलाई लुम्विनीसंग जोडेर समग्र प्राचीन कपिलवस्तु क्षेत्रलाई प्रदेश नं. ५ को प्रमुख गन्तव्य पर्यटक स्थल बनाउन जरुरी छ । कपिलवस्तुका प्राचीन पुरातात्विक क्षेत्र पुग्न फराकिलो बाटो, पुरातात्विक स्थलको संरक्षण विकास र प्रचार प्रसार, यस क्षेत्रको वरपर सुविधा सम्पन्न होटल रेष्टरेन्टहरु लगायतका पुर्वाधारहरुको विकास गर्न सके स्वदेशी तथा विदेशीहरुको आकर्षक गन्तव्य वन्न सक्छ, कपिलवस्तु ।
यसबाट यस क्षेत्रका आम सर्वसाधारणहरुको जिविकोर्पाजनमा सुधार आउने, रोजगारीका अवसरहरु सृजना हुने, आन्तरिक तथा बाह्य पर्यटनबाट राष्ट्यि अर्थतन्त्रलाई समेत टेवा पुर्याउन ठुलो सघाउ पुग्ने निश्चित छ ।
कपिलवस्तु क्षेत्रका सवै राजनैतिक दल, नागरिक समाज, प्रदेश सभा सदस्य, प्रतिनिधी सभा सदस्य सवै एक भई कपिलवस्तु विकासको आवाज प्रदेश र केन्द्र सरकार तर्फ बुलन्द गर्न जरुरी छ । यसका अलावा स्थानीय तहले समेत आआफ्ना क्षेत्रमा पर्ने यस्ता प्राचीन पुरातात्विक स्थलहरुको विकासमा समेत विशेष अग्रसर भइ अघि बढ्नु जरुरी छ ।

















