प्रशिक्षणमा सी–पथ, कार्यान्वयनमा मोदी–पथ

137

काठमाडौं । हालै सत्तारुढ नेकपाले पार्टी भित्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लगायतको उपस्थितिमा चिनियाँ राष्ट्रपति सी जिन पिङको विचारधाराबारे प्रशिक्षण दिइएको समाचारले व्यापकता पाएको छ । यो निकै गम्भरिताका साथ बहसको विषय बनिरहेको छ । सामरिक रूपमा संवेदनशील स्थानमा रहेको नेपालमाथि चीन, भारत, अमेरिका लगायतका शक्तिमुलुकसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने बाध्यता छ । यसबीचमा सत्ताको नेतृत्व गरेको पार्टीले कुनै एउटा शक्ति राष्ट्रका कार्यकारीको विचारलाई पार्टी भित्र लागु गर्ने विषयले स्वभाविक रूपमा आशंका पैदा गरिदिएको छ । त्यो आशंका नेपालमा चासो राख्ने अन्य शक्ति राष्ट्रहरूका लागि स्वाभाविक हो । कुटनीतिक मामिलाका जानकारहरू सत्तारुढ दलको यस्तो प्रवृत्तिलाई कुटनीतिक अपरिपक्वतासँग पनि जोडेर हेरिरहेका छन् । मुलुकले कुटनीतिक रूपमा आफूले अवलम्बन गनुपर्ने नीति एक ठाउँमा छ । त्यसका बारेमा आलोचना वा प्रशंसा पनि हुँदै रहन्छन् । तथापि आहिलेको महत्वपूर्ण विषय भनेको सैद्धान्तिक रूपमा कुनै विचारको समर्थन गर्नु र त्यसको विपरित अर्काे प्रवृत्ति वा विचारको कार्यान्वयनको हो । सत्तारुढ नेकपाले सी विचारधाराका बारेमा पार्टी भित्र प्रशिक्षण दिँदै गर्दा व्यावहारिक रूपमा उक्त दलका गतिविधि कतातिर ढल्किरहेका छन् भन्ने कुराले उनीहरूको सिद्धान्त र व्यवहारलाई प्रष्ट पार्छ ।

सुरुमा सी विचारको कुरा गरौँ । चीनले अहिले जुन किसिमको विकास र समृद्धिको लय समाइरहेको छ, त्यो सीले अवलम्बन गरेको स्वतन्त्र विचारको उपज हो । सीले मुलुक र जनतालाई प्राथमिकतामा राखेर अघी बढाएको विचारले नै आज चीनलाई विश्वको सर्वशक्तिमान बनाउने बाटोमा अघी बढाइरहेको छ । सीले देखावटीमा एउटा र व्यवहारमा अर्काे (नेपालको राजनीतिक नेतृत्वले गरे जस्तै) गरेको भए आज न चीन अहिलेको अवस्थामा पुग्न सक्थ्यो, न सीको उचाई यो अवस्थामा पुग्ने थियो । ‘देश र जनता पहिले’ भन्ने सीको सिद्धान्तले नै सी र चीन एकैपटक उदाउन सफल भएका हुन् । सीले पटक पटक भन्दै आएको कुरा भनेको ‘कम्युनिस्टले व्यक्तिगत सम्पत्तिको मोह गर्नु हुँदैन’ भन्ने नै हो । तर आज नेपालमा जसले सीको विचारलाई अनुशरण गर्ने कुरा गरिरहेका छन्, के उनीहरू सम्पत्तिको सवालमा सीको विचारसँग सहमत छन् ? नेपालको हकमा सीको विचार र यहाँका नेताहरूको विचार ठ्याक्कै उल्टो देखिन्छ । कुनै बेला सर्वहारा जनताको नेतृत्व गर्ने नेताहरूको आर्थिक हैसियत र जीवनशैलीले सीको विचारलाई अनुशरण होइन व्यंग्य मात्र गर्छ । अर्काेतर्फ सी ले मुलुक र जनता पहिलो भन्छन् । यहाँका कम्युनिस्ट नेतृत्वमा विचलन आइसकेको छ । उनीहरूले न त जनताको भावनाको कदर गर्न सकिरहेका छन् । न मुलुकको हित नै । आज पनि मुलुकका महत्वपूर्ण जलसम्पदा दक्षिणी छिमेकीको नियन्त्रणमा छन् । महाकाली र माथिल्लो कर्णाली जस्ता महत्वपूर्ण जलविद्युत आयोजना भारतीय कम्पनीले ओगटेर राख्दा पनि दुईतिहाई बहुमतको नेपालको कम्युनिस्ट सरकार सम्झौता तोड्न सक्दैन बरु पटक पटक म्याद थपेर आफ्ना जलसम्पदा भारतकै जिम्मा लगाइरहेको छ । माथिल्लो कर्णाली परियोजनामा भारतीय कम्पनी जिएमआरसंग भएको सम्झौता हालैमात्र चौथो पटक नविकरण गरिएको छ । नेपालको सबैभन्दा सस्तो लगानीमा बन्न सक्ने र नेपाल आफैंले चार हजार एक सय अस्सी मेगावाट विद्युत उत्पादन गर्नसक्ने यो परियोजना नौ सय मेगावाट उत्पादन गर्ने गरी भारतलाई चौथो पटक म्याद थपेर दिने काम र सी पथको प्रशिक्षण गरिने काम संगसंगै भएको छ । सी पथको मार्गनिर्देश भारतसंगको लम्पसार हो ?

नेपालको भूमि लिपुलेकमा भारत र चीनले सम्झौता गरेका छन् । नेपालको कम्युनिस्ट नेतृत्व त्यो गलत हो भनेर सच्याउन तयार देखिदैन । लामो समयदेखि भारतसँग भएका असमान सम्झौता खारेज गर्ने ल्याकत वर्तमान नेतृत्वसँग देखिदैन । हिजो विस्तारवादको सबैभन्दा बढी विरोध गर्ने कम्युनिस्ट नेतृत्व आज त्यही विस्तारवादको सबैभन्दा नजिकको मित्र बन्न पुगेको छ । नेपाललाई आधार बनाएर उत्तरी छिमेकी मुलुक चीनलाई घेर्ने इन्डो प्यासिफिक रणनीति लगायतका नयाँ नयाँ योजना अमेरिका लगायत पश्चिमा मुलुकले अघी सार्दै नेपाललाई केन्द्रीय भूमिकामा राख्ने कुरामा नेपालको धारणा विवादित भइरहेको छ । के सी पथको प्रशिक्षण यस्तै कुरामा निर्देशित छ ? सीकै विचारलाई अनुशरण गर्ने भन्दै गर्दा चीनले अघी सारेको विकास सम्बन्धी परियोजना बीआरआई अन्तर्गत भएका योजना अलपत्र अवस्थामा छन् । यस्ता महत्वपूर्ण विषयको कार्यान्वयनमा वेवास्ता गर्ने र विचारलाई मात्र अनुशरण गरेर उपलब्धि कसरी हुन सक्छ ?

वास्तमा नेपालको विकासका लागि न त सी पथकै आवश्यकता छ न मोदी पथ वा ट्रम्प पथ ! सात दशक लामो कम्युनिस्ट इतिहासमा नेपालको आफ्नै मौलिकता बोकेको कम्युनिस्ट विचार अहिलेसम्म पनि आउन सकेको छैन । कसैले ल्याउन खोज्यो भने पनि त्यसलाई असफल बनाउन कम्युनिस्टहरू नै लागि परे । यसअवधिमा माक्र्सवाद, लेनिनवाद, माओवाद, एंगेल्स, स्टालिन, आदि हुँदै अहिले सी विचारधारा वा सी पथको विषय आइरहेको छ । विचारलाई नै आत्मसात गर्दैमा हुने भए आज नेपालको कम्युनिस्ट आन्दोलनले धेरै उचाई लिनु पथ्र्याे र मुलुकको विकास र समृद्धिले फड्को मार्नुपथ्र्याे । त्यो किन हुन सकेन ? किनभने हामीले आफ्नो मौलिक किसिमको विचार वा सिद्धान्त बनाएर अघी बढ्यौं भनेमात्र त्यसले हाम्रो आफ्नो विकास हुन सक्छ । कुनै एउटा देशमा एउटा व्यक्तिले अनुशरण गरेको विचार घोक्दैमा त्यसले मुलुक परिवर्तन हुन सक्दैन । बरु यसले अर्काे चुनौति सृजना गर्न सक्छ । जस्तो अहिले नेपालका कम्युनिस्टहरूले सी पथको कुरा गर्दै गर्दा कांग्रेस वा अन्य कुनै दलले मोदी पथ भन्लान् ! त्यसैगरी कुनै दलले ट्रम्प पथ भन्न सक्ला ! त्यसले हामीलाई आयातित विचारको द्वन्दमा मात्र धकेल्ने निश्चित छ । अहिले कुनै विचार वा पथको आवश्यकता होइन, जनताले दुई तिहाई मत दिएका छन् । यतिबेला आफूले राम्रो काम गरेर जनतामाझ नेपाली मौलिक किसिममको विचार वा सिद्धान्त स्थापना गर्ने अवसर छ । शक्तिशाली पार्टी र शक्तिशाली सरकार हुँदा पनि कुनै आयातित विचार र सिद्धान्तका कुरा गर्ने तर काम नगर्ने हो भने जुनसुकै विचारको बहस गरेपनि हामी आफ्नो यात्रामा अघी बढ्न सक्दैनौँ । अहिले हामीलाई आवश्यक भनेको चीन, भारत वा अमेरिका जस्ता मुलुकबाट लगानी, प्रविधि र सीप भित्र्याउन आवश्यक छ । हामी आर्थिक रूपमा बलियो बन्यौँ भने हाम्रो विचार वा सिद्धान्त अरुका लागि काम लाग्न सक्छ । सात दशकदेखि विचार र सिद्धान्तका कुरा गरेर जनतालाई अलमलमा पार्ने परिपाटीलाई अझै पनि निरन्तरता दिँदै गयौँ भने हामी कहीँ पुग्दैनौँ र कम्युनिस्ट पार्टी एकादेशको कथा बन्न सक्छ ।

अहिले अवसर छ । विगतमा भएका असमान सन्धि सम्झौता खारेज गरौँ । मुलुकको गुमेको भूमि फिर्ता गर्न पहल गरौँ । उत्पादनमा जोड दिँदै युवा जनशक्तिलाई स्वदेशमै विकास निर्माण र समृद्धिसँग जोडने काम गरौँ । जनशक्तिलाई श्रमसँग जोडने काम गरौँ, जसरी चीनले आफ्ना जनतालाई उत्पादन र श्रमसँग जोडेर आर्थिक विकास र समृद्धिको लय समाइरहेको छ । व्यवहारिक पाटोलाई सिक्न खोज्यौँ भने त्यो हाम्रो लागि धेरै राम्रो अवसर हुन सक्छ । बरु बीआरआईमार्फत नेपालको पूर्वाधार विकासमा के गर्न सकिन्छ ? त्यसतर्फ बहस गरौँ, प्रशिक्षण लिउँ र तालिम प्राप्त गरौँ, सक्षम बनौं । खोक्रो विचारको बहस गर्ने तर आफूलाई परिवर्तन नगर्ने हो भने केही सीमित व्यक्तिहरूको वर्ग उत्थान हुनसक्ला हामी झनैं रसातलमा पुग्नेछौं । अहिले नेपाल निकै संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ । यो बेलामा नेतृत्वले सजगता नअपाउने हो भने भोलि अस्तित्वको लडाई लड्नुपर्ने अवस्थामा पुग्न सकिन्छ । हामी कसैसँग नजिक वा टाढा भएर होइन, सबैसँग समान सम्बन्धमार्फत असंलग्न नीतिको माध्यमबाटै देशको विकासको गतिलाई अघी बढाउन सक्छौँ । हामी सीलाई पछ्याउन खोजिरहेका छौँ, तर व्यवहारमा मोदीको पछाडि लम्पसार परिरहेका छौं । यो सम्भावनालाई अझै फराकिलो पनि बनाइरहेका छौं । देशको दुरगामी दुर्भाग्यपूर्ण परिणाम बन्न सक्छ । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here