हुकुमबहादुर सिंह
सन् २०१०को जुलाईमा चीनको कुनमिंगमा आइक्यापको अन्तराष्ट्रिय सम्मेलन भएको थियो, जसमा एशीयाका घेरै देशका सरकारमा रहेका र प्रतिपक्षमा रहेका राजनीतिक दलका नेताहरूको जमघट थियो । सम्मेलनको केन्द्रीय विषय ‘गरिबी निवारण’बारे विभिन्न कार्यपत्रहरू पेश गर्ने र छलफल गर्ने थियो । उक्त सम्मेलनमा तत्कालिन एमाओवादीका तर्फबाट यो पंक्तिकारले पनि नेपालको गरीवी निवारणमा महत्वपूर्ण भूमिका खेलेको ‘नेपालको सामुदायिक बन’को उदाहरण दिएर संक्षिप्तमा कार्यपत्र प्रस्तुति गरेको थियो । सम्मेलनपछि चीन सरकारले विभिन्न देशका सहभागीलाई प्लेन चार्टर गरेर चीनको राजधानी वेइजींगको भ्रमण गराएको थियो । त्यसको प्रमुख उद्देश्य त्यस समयका हुनेवाला चीनको कम्युनिस्ट पार्टीका महासचिव सी जीन पिंगसितको सामूहिक भेटघाट थियो । चीनियाँ एक जना कमरेडले म सित अनौपचारिक रूपले भनेका थिए ‘तपाई अब चीनका हुनेवाला महासचिवसित भेट्दै हुनुहुन्छ ।’ मैले उनलाई सोधेको थिए–‘महाधिवेशन त भएको छैन, कसरी थाहा भयो यिनी नै पक्का महासचिव भनेर ।’ उत्तरमा उनले भनेका थिए– ‘तीन वर्ष अगाडिदेखि कम्युनिस्ट पार्टीले उनलाई त्यस रूपमा ग्रुमिंग गरिरहेको छ ।’
यो सुनेर मलाई लागेको थियो– ‘यो त राजतन्त्रको झझल्को दियो त ।’ हुनेवाला राजालाई जन्मदेखि नै त्यसमा अभ्यस्त गराउँदै लैजानेजस्तो । चीनका हुनेवाला महासचिवसित भेट्दै भनेपछि उत्सुकता हुने नै भयो । नभन्दै चीनको ग्रेट हलमा त्यसको लागि व्यवस्था मिलाइएको थियो । उनीसितको भेटभन्दा अगाडि विश्वका महान नेता तथा गुरु माओको पार्थिक शरीरको अवलोकन गर्ने कार्यक्रम थियो । उनको दर्शनका लागि हजारौ मानिसहरू चीनभित्र र बाहिरबाट आउनेको ज्यादै भिड थियो तर व्यवस्थापन यस्तो चुस्त थियो कि लाइनमा छु भन्ने नै अनुभव नहुने । हजारौको लाइनमा रहेर पनि केही मिनटमा माओका अगाडि पुगिने । जेहोस् चीनमा माओलाई भगवानका रूपमा वर्तमान नेतृत्वले मानेको छ भने देंग शियायो पिंगलाई विचारका रूपमा । नभन्दै सीसित भेट भयो । उनले सबैसित एक–एक गरी हात मिलाए र एकछिन (करीब ५ मिनट) आफ्ना संक्षिप्त भनाइ राखे । यो नै वर्तमान सीसितको यस पंक्तिकारको भेट थियो । अहिले उनी चीनका माओ पछिका शक्तिशाली नेता मात्रै बनेका छैनन्, माओजस्तै विश्व हाँक्ने नेता बन्न खोजेका छन् । त्यसका लागि उनले प्रयोग गरेको डुंगा–२०१३ देखि उनकै नेतृत्वमा अगाडि बढेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ)” हो ।
विश्वका क्रान्तिकारी कम्युनिस्टहरू–जसले आफूलाई माक्र्सवादी–लेनीनवादी–माओवादी भन्दछन्, उनीहरूको दृष्टिमा चीन अब एउटा कम्युनिस्ट देश नभई एउटा पुँजीवादी देश बनेको छ । तै पनि चीनिया“ नेतृत्व अझै आफूलाई ‘चीनको विशेषतामा समाजवाद’ भन्ने गर्दछ । यही दर्शनमा अहिले चीनिया“ कम्युनिस्ट पार्टी, चीनिया“ जनता हिंडिरहेका छन् । विकास, उन्नति र प्रगति यसको मूल लक्ष्य रहेको छ । ‘जे जसरी हुन्छ, पैसा कमाउ’ र देशलाई जति सक्दो धेरै करतिर, जसबाट चीनका अन्य गरिबका लागि विकास गर्न सकियोस भन्ने मार्गतर्फ चीनिया“हरू र चीन सरकार लागेको छ । व्यापार उनीहरूको मूल पक्ष हो । धनीहरूबाट लिएर गरिबलाई बाडने ।
तर के स्पट हो भने चीनीया“ कम्युनिस्ट पार्टी चीन र चीनिया“ जनताको पक्षमा सोच्दछ, बोल्दछ र काम गर्दछ तर नेपालका सरकारी कम्युनिस्टहरू त्यसको विपरीत आफ्नो लागि पद, पैसा र ऐयासी जिन्दगीका लागि जे पनि गर्दछन् । अहिले उनीहरू काठमाडौंमा माओ विचारधारा छाडेर ‘सी विचारधारा’को प्रशम्सामा लागेको देखिएका छन् । तर यसो गरीरहदा उनीहरूलाई भित्रभित्रै कतै अमेरिका रिसाउने हो कि, भारत रिसाउने हो कि भन्ने चिन्ताले खाएको छ । विगतमा एमालेले युरोपियन युनियनका प्रतिनिधिहरूले पार्टी कार्यालय बल्खुको भ्रमण गर्दा माक्र्स, एङ्गेल्स, लेनिन र माओका तस्बिरहरू लुकाएको घटना त ताजै छ । अहिले उनीहरूले जे जसरी ओलीदेखि प्रचण्ड आदि सबै मिलेर ‘सी विचारधारा’को प्रशंसा गरिरहेका छन् , आशा गरौ सीको भ्रमणसम्म कम्तिमा यो रहोस्, त्यसपछि अमेरिकी ‘इण्डो प्यासिफिक रणनीति’को प्रशंसा सुरु नहोस् । सी विचारधारको एउटा महत्वपूर्ण पक्ष हो– उनले चीनका कम्युनिस्ट नेता तथा कार्यकर्तालाई भनेको– ‘यदि पैसा कमाउन छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।’
के ओली र प्रचण्ड पार्टीका नेता तथा कार्यकताले सीको यो भनाइलाई अपनाउन सक्छन् ? सी र चीनिया“ जनता राष्ट्रवादी छन्, राष्ट्रको हितमा सोच्दछन, बोल्छन् र गर्दछन् तर नेपालका यी सत्ताधारी कम्युनिस्टहरू भने के गरिरहेका छन्, आम विश्वलाई थाहा छ र स्वयम् सी र चीनिया“ कम्युनिस्ट पार्टीका नेताहरूलाई पनि स्पष्ट छ । अहिले यिनीहरूले भन्ने गरेको समाजवादका कुरा र भर्खरै यो सरकारले ल्याएको भूमि विधेयक, गुठी विधेयकआदि ताजै छन्, यी सब उत्तरका लागि । कम्युनिस्ट राज्यसत्ताको काम देशको, जनतको र समाजवादको रक्षा गर्नु हुन्छ । तर ओली–प्रचण्ड नेतृत्वको राज्यसत्ताको काम नेपालमा भ्रष्टाचारी, कालोबजारी, दलाल र विचौलियाहरूको रक्षा गर्नु भएको छ ।
ओली, प्रचण्ड र नेकपाका अन्य नेताहरूले ‘सी विचारधारा’को प्रशम्सा मात्रै गरेर पुग्दैन, उनीहरूले पहिले आफैलाई र त्यसपछि आफ्ना पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूलाई सीले जस्तै भन्न सक्नु पर्छ– ‘यदि पैसा कमाउनु छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।’ [email protected]
जनधारणा साप्ताहिक


















