काठमाडौं / नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ धनकुटा–काठमाडौं सम्पर्क समितिको संस्थापक संयोजकको जिम्मेवारी विद्यार्थी राजनीतिमा क्रियाशिल रहँदै आएका नेपाल ल क्याम्पसका विद्यार्थी नेता तथा सूचनाको हकको अभियन्ता समेत रहेका सबिन पोख्रेलले सम्हाल्नु भएको छ ।
नेपाली काँग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना आदान–प्रदान, चियापान तथा प्रशिक्षणको आयोजना गरेको थियो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष गूरुराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा धनकुटा जन्मथलो भई काठमाडौंलाई कर्मथलो बनाउँदै आएका जिल्लाका नेपाली कांग्रेससम्वद्ध कार्यकर्ताका उल्लेख सहभागिता रहेको थियो ।
घिमिरेले पार्टीभित्र रहेको गुट/उपगुटको अन्त्य गर्दै पार्टीको कार्यशैलीलाई परिवर्तन गर्नुपर्ने जनाउँदै कांग्रेसनिकट भातृ संगठनहरुलाई पनि चुस्त दुरुस्त बनाउन आवश्यक रहेको जनाए । उनले पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै धनकुटाका पूर्व सांसद मनोहर नारायण श्रेष्ठले सम्पर्क समितिहरुले जिल्लावासीहरुका हकहितका निम्ति लागिपर्नुपर्नेमा जोड दिए । उनले नेपालको संविधान लागु गर्नमा पार्टीले अतुलनीय योगदान दिएको चर्चा गर्दै पार्टीलाई सुदृढ बनाउन आग्रह गरे ।
सम्पर्क समितिका सभापति भीमबहादुर सुयल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सविन पोख्रेलको सयंजकत्वमा सात सदस्य नेपाल विद्यार्थी संघ धनकुटा–काठमाडौ सम्पर्क समितिको गठन गरिएको जानकारी गराएका छन् ।
कार्यक्रममा यज्ञ आचार्य, यज्ञ अधिकारी, नरेश लिम्बु, सुरेश आचार्य, राजकुमार उप्रेती, कुमारसिंह घिसिङ र महेश पौडेललगायतले नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, छठ, नेपाल सम्बतको अवसरमा शुभकामना दिएका थिए ।


















