आज पनि भाइटीका लगाउँदै नेवार समुदाय

291

काठमाडौं / नेवार समुदायले बुधबार भाइटीका लगाउँदैछन् । मंगलबार भाइटीका  नलगाएका नेवार समुदायले मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेर बुधबार किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।

नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार कतिपय नेवार समुदायले भने मंगलबार नै किजा पूजा मनाएका छन् । मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको नेवार समुदायका अगुवाहरुले  जनाउँदै आएका छन् ।

किजा पूजाको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेपछि नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै सो दिन पनि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन् ।

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here