प्रधानमन्त्री अस्पतालमै आराम गर्न डाक्टरहरूकाे सुझाव

196

काठमाडौं / स्वास्थ्यमा समस्या आएपछि ग्र्यान्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो देखिएपछि बुधवार डाक्टरहरूले अस्पतालमै आराम गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यपरीक्षण रिपोर्ट आउन अझै एक दिन लाग्ने भएपछि  उनलाइ अस्पतालमै आराम गर्न सुझाव दिइएको हो ।

बुधवार बिहान करीब १० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई साढे ११ बजे आइसीयुमा भर्ना गरिएको थियो । ओलीलाई भेट्न आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामान्य फलोअपका लागि आएकाले केही बेरमै डिस्चार्ज हुने जनाएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले पनि नियमित स्वास्थ्यपरीक्षण भएकाले समय नलाग्ने जनाउनु भयो । तर अपरान्ह अचानक ओलीलाई ज्वरो बढेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनका निजी चिकित्सक दिव्यासिंह शाह र सुवास आचार्यले गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण भएका कारण पटक–पटक स्वास्थ्यमा समस्या देखिने गरेको छ । स्वास्थ्य उपचारका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । सिंगापुरबाट फर्किएपछि पनि ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएन । त्यसपछि प्रधानमन्त्री ओलीलाई १ हप्तापछि नै भदौ ५ गते सिंगापुर लगियो । ओली २ हप्तापछि भदौ २० गते उपचार सकेर स्वदेश फर्किए ।

सिंगापुरमा उपचार गरेको २ महिना नपुग्दै फेरि बुधवार ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई स्वास्थ्य उपचारका लागि बुधवार ग्राण्डी अस्पताल लगिएको छ ।

मंगलवार तिहारको भाइटीका लगाएको भोलिपल्ट प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएको नेकपा स्रोतले जनाएको छ । मृर्गौला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्य संवेदनशील छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here