प्रधानमन्त्री ओलीले बाहेक अरुले बुझ्न नसक्ने कुरा

249

– निमकान्त पाण्डे

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले सर्वत्र चर्चा छ । पछिल्लो समय उहाँको स्वास्थ्यस्थिति बिग्रिएसँगै मुलुकको राजनीतिक क्षेत्रमा कतै उथलपुथल हुने त होइन भन्ने आशंका पनि व्याप्त छ । उहाँको हालै मात्र मिर्गौलामा समस्या आएपछि दुई दिन काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । मिर्गौलाले राम्रो काम गर्न नसकेकाले ग्रान्डीमा डायलाइसिस गरिएको हो । तथापि उहाँ पूर्णतः ठीक भइनसकेको स्पष्टै छ । चिकित्सकका अनुसार ओलीको स्वास्थ्यस्थिति सुधार्न मिर्गौला प्रत्यारोपण वा नियमित डायलाइसिस दुई विकल्प मात्र रहेको कुरा सार्वजनिक गरिएपछि प्रम ओलीको स्वास्थ्यमा गम्भीर छ भन्ने कुरा पुष्टि भइरहेको छ ।

सबैलाई थाहा भएकै कुरा हो, प्रधानमन्त्री ओली राजनीतिको यो उचाइमा ठूलो संघर्षपश्चात् आइपुग्नु भएको हो । झापा विद्रोहमार्फत नेपाली राजनीतिमा उदाएका उहाँको धेरै ऊर्जाशील समय जेलमा बितेको छ । एक दशकभन्दा लामो समय जेलमा बिताएका ओली त्यसबेला सिकिस्त बिरामी पनि हुनुभएको थियो । उहाँ जेलकै साथीहरूको सहयोगमा आफ्नो नित्यकर्म समेत  गर्ने अवस्थामा जेलजीवन बित्यो । त्यति हुँदा पनि ओली जीवनप्रति कहिले निराश नभएको र हरेस नखाएको नेकपाका तत्कालीन ओलीका सहयात्री नेताहरूबाटै सुन्न पाइन्छ, खासगरी राधाकृष्ण मैनालीबाट ओलीको बारेमा सुन्दा अनौठो लाग्छ । जीवनप्रतिको दृढ लगाव र दरिलो आत्मविश्वासका कारण ओली अहिलेको अवस्थामा आइपुग्नुभएको हो भन्ने कुरामा कुनै दुईमत छैन । तर ओली आफ्नो लक्ष्यमा कतिसम्म अडिग र अविचलित बन्न सक्नुभयो भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसका लागि उहाँका पछिल्ला गतिविधिहरूलाई सूक्ष्म ढङ्गले विश्लेषण गर्नु आवश्यक छ ।

केही दशकयता नेपाली राजनीतिमा देखापरेको अस्थिरताका कारण नेपाली जनतामा हतोत्साहको अवस्था देखियो । यो बेलामा जनताको मनोबल बढाउने र राजनीतिलाई स्थिर दिशातर्फ लैजाने काममा ओलीकोे देशभक्ति अडानका साथ सुरु भएको वाम गठबन्धनको प्रयास सकारात्मक रह्यो । जनतामा चरम निराशा बढिरहेका बेला ओलीले आफ्नो हैसियतबाट उत्साह र उमंग भर्ने काम गर्नुभयो । छिमेकी देशबाट गरिएको नाकाबन्दीको डटेर सामना नगरिएको भए र वाम गठबन्धनको प्रयास नगरिएको भए सरकार बनाउने हैसियतमा ओलीलाई सफलता मिल्न सक्ने अवस्था आउँदैनथ्यो । सरकारको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री ओलीले ठूला–ठूला योजनाको परिकल्पना र निर्माणको थालनीतर्फ विशेष चासो देखाएको पाइन्छ । तथापि ती परिकल्पनाले साकार रूप लिन सकिरहेको अवस्था भने छैन । पानीजहाजदेखि रेलसम्मका परिकल्पनाहरू निकै चर्चित बने । छिमेकी देशहरूको सहयोगबिना कार्यान्वयन गर्न नसकिने र आफ्नो देशको लागि अत्यावश्यक योजना पनि नभएका कारण रेल र पानीजहाजका परिकल्पना निरर्थक साबित हुँदै गएका छन् । भलै यस्ता योजनाका पक्ष र विपक्षमा आ–आफ्ना मतहरू होलान्, तर रेल र पानीजहाजबाट आयात गर्ने बाहेक निर्यात गर्ने कुनै वस्तु नेपालसँग उपलब्ध छैन । यस्तो अवस्थामा नेपाल रेल र पानीजहाज आवश्यक हो कि निर्यातजन्य वस्तुहरूको उत्पादन अभियान आवश्यक हो ? स्पष्ट हुन जरुरी छ ।

प्रधानमन्त्री ओलीको मिसन एकातिर र कार्यान्वयन अर्कोतिर देखिन्छ । देशलाई आत्मनिर्भर बनाउन निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने आजको आवश्यकता हो । बेरोजगारीको अन्त्य र समृद्ध नेपालको परिकल्पनालाई साकार तुल्याउन यो नै महत्वपूर्ण कदम हुन सक्छ । तर, मिर्गौलाको डायलाइसिस पश्चात् लगत्तै आराम गर्नुपर्नेमा मन्त्रिपरिषद्को बैठकबाट सातै प्रदेशका प्रमुखहरू बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखहरूको नियुक्ति गरियो । यो कति आवश्यक कदम थियो ? के बिगारेका थिए प्रदेश प्रमुखहरूले ? किन पजनी गरियो उनीहरूको ?

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो नहुँदा अब उहाँको आयु त्यति लामो छैन भन्ने कुरा पनि स्पष्ट छ । चिकित्सकहरूबाटै दिइएको सुझाव र स्वयं प्रम ओलीबाटै स्वास्थ्य अवस्थाबारेमा व्यक्त भइरहेका कुराहरूबाट पनि बुझ्न सकिने विषय हो । बिग्रँदो स्वास्थ्यका कारण ओलीले अब देशको सेवा गर्ने लामो समय पाउने अवस्था छैन । त्यसकारण पनि उहाँलाई आफ्नो बाँकी समय देश र जनताको हितमा खर्चिने र चिरस्मरणीय काम गरेर इतिहास रच्ने अन्तिम अवसर छ भन्दा फरक पर्दैन । यस्तो अवसर सबैले सधैंका लागि पाउन असम्भव हुन्छ ।

संविधान संशोधन गर्ने हैसियतमा रहेको सरकारको नेतृत्वमा रहेका केपी ओलीले आफ्ना सन्तानका लागि सम्पत्ति थुपारेर राख्नुपर्ने आवश्यकता छैन । प्रधानमन्त्री ओली आफैले पनि विभिन्न सार्वजनिक कार्यक्रमहरूमा आफूसँग धेरै समय बाँकी नरहेको र जति समय म बाँच्छु, देश तथा जनताको हितमा खर्चिन चाहन्छु भन्दै आउनुभएको सुनिएकै हो । समयले त्यो अवसर ओलीलाई जुराएको छ । आफ्नो सम्पत्ति आफूपछि राष्ट्रको नाममा हुने घोषणा समेत गरिसकेकाले प्रधानमन्त्री ओलीलाई सम्पत्तिको मोह छैन भन्ने कुरा बुझ्न सकिन्छ । परन्तु डनहरूको घेराबन्दी, भ्रष्टहरूको भ्रष्टाचारजन्य चलखेल, विदेशी शक्तिका दलालहरूको डरलाग्दो दलालीलगायतका गतिविधिले ओलीलाई विवादित बनाइरहेको अवस्था छ । यस्तो खालको घेराबन्दीबाट ओली मुक्त हुन नसक्नु देशकै निम्ति दुर्भाग्य हो ।

मुलुकमा पछिल्लो समय राजनीतिक स्थिरता भए पनि जनताले धेरै परिवर्तन महसूस गर्न सकेका छैनन् । जनताको दैनिक जीवन निकै कष्टकर बनिरहेको छ । अत्यधिक मूल्यवृद्धिका कारण जनतालाई काम गरेर खान मुस्किल हुँदै गएको छ । करको भारले जनताको ढाड सेकिरहेको छ । युवाहरूले पर्याप्त रोजगारी पाउन सकेका छैनन्, जसका कारण खाडी मुलुक अहिले नेपाली कामदारले भरिएका छन् । देशमा पसिना बगाएर विकास गर्नुपर्ने जोशिलो र जाँगरिलो युवा शक्तिले अहिले खाडीका मरुभूमिलाई उर्बर र हराभरा बनाइरहनु परेको अवस्था छ । सर्वसाधारण अझै सडकको धूलो र धूँवाले आजित भइरहेका छन् । काठमाडौंलगायत मुलुकका कतिपय शहर र गाउँहरू पिउने पानीको संकटबाट गुज्रिरहेका छन् । देशमा भ्रष्टाचार निर्मूल हुने भन्दा झन् पछि झन् बढिरहेको र संस्थागत बनिरहेको अवस्था छ । भ्रष्टहरूलाई राज्य र न्यायिक निकायले संरक्षण गरिरहेको अवस्था छ । भ्रष्टाचार गर्नेहरू थोरै रकम धरौटीमा अदालतबाट छुटिरहेका छन्, यसले कानूनले आफूहरूलाई केही गर्न नसक्ने ठानेर भ्रष्टाचारीहरू झन् उत्साहित भइरहेका देखिन्छन् । देशमा दण्डहीनता बढ्दो छ । सुसंस्कृत राजनीति र विधिको शासन कायम हुन सकेको छैन । मुलुक संघीयतामा गए पनि स्थानीय निकाय जनताप्रति इमानदार हुन सकेका छैनन् । अझ त्यस्ता निकाय भ्रष्टाचारको अखडा बन्दा जनता झन् प्रताडित हुँदै राजनीतिप्रति निराश बनिरहेका छन् । देश र जनताको लागि क्रान्ति र परिवर्तन गर्नेहरू आफै नवसामन्तको रूपमा उदाइरहेका छन् । यस्ता थुप्रै समस्या छन्, जसलाई प्रधानमन्त्री ओलीले आफ्नो बाँकी कार्यकालमा सम्बोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

विदेशीहरूका स्वार्थमा होइन नेपाली जनताको आवश्यकतालाई पहिचान गर्दै देशलाई आत्मनिर्भर बनाउने अभियानमा प्रधानमन्त्रीको हैसियतबाट केपी ओलीलाई महत्वपूर्ण योगदान पूरा गर्ने अवसर प्राप्त भएको छ । तर दुर्भाग्य ! प्रधानमन्त्री ओलीलाई देश र जनताको आवश्यकता अनुरूप चल्न दिइएको पाइँदैन । नपाएको हो वा उहाँ स्वयंले नचाहेको हो ? बुझ्न ओली स्वयंले बाहेक अरु कसले सक्ला र ?– जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here